मुख्य समाचारसमाचारहेडलार्इन

आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि आज बस्ने भनिएको संवैधानिक परिषद्‌को बैठक कुनै अर्को मिति नै तय नगरी स्थगित गरिएको छ । परिषद्‌ सदस्य विपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि आजै सिंगापुर जाने भएकाले परिषद्‌को बैठक स्थगित गरिएको जानकारी दिइएको छ ।
यसअघि प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भए पछि अब कसलाई प्रधानन्यायाधीशमा नियुक्त गरिने हो सोको आज बैठकले सिफारिस गर्ने अपेक्षा थियो तर सो पुरा हुन सकेन ।
नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्‌ बैठकले दुई जनाको नाम पठाइसकेको छ। सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणाको नाम संवैधानिक परिषद्‌मा पठाइएको छ । उनीहरुमध्ये एकलाई सुनुवाइका लागि परिषद्‌ले सिफारिस गर्नेछ । उनीहरु मध्ये मिश्र वरिष्ठ भएकाले उनको नाम भावी प्रधानन्यायाधीशका रुपमा सिफारिस हुने सम्भावना रहेको छ।


त्यस्तै ६ महिनादेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्तिका लागि पनि आजै बस्ने भनिएको संवैधानिक परिषद्को बैठकले सिफारिस गर्ने तय गरिएको थियो।

परिषद्‌ले प्रधानन्यायधीश र आयोगको प्रमुख आयुक्त नियुक्तिको एजेन्डा राखेरै सदस्यलाई बैठकमा सहभागीका लाडि डाकिएको थियो।

दीप बस्यातले गत फागुन १ मा अवकाश पाएयता आयोग कार्यवहाक प्रमुख आयुक्तका भरमा चल्दै आइरहेकोछ। आयोगका आयुक्त नवीन घिमिरे वरिष्ठताका आधारमा कार्यबहाक प्रमुख रहेका छन्।

अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र हालका कार्यवाहक प्रमुख आयुक्त नविन घिमिरेलाई प्रमुख दाबेदार मानिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button