प्रदेश सांसदहरुद्वारा प्रदेशसभा बैठक अवरुद्व

प्रदेश नं. २ का सांसदहरुले आइतबारको प्रदेशसभा बैठक अवरुद्व गरेका छन । मन्त्रीहरुले सम्पन्न भइसकेको योजनाको भुक्तानी दिन नमानेको भन्दै सत्ता तथा प्रतिपक्षी सांसदहरुले प्रदेशसभा बैठक अवरुद्व गरेका हुन । उनीहरुले संसद बैठक अवरुद्व गरेपछि सभामुख सरोज कुमार यादवले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरेका छन ।
बैठक सुरु हुनासाथ सत्तासिन राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसद विदेश्वर यादव ‘विक्की’ ले सरकारले गैर जिम्मेबारी प्रदर्शन गर्दै हालसम्म भुक्तानी नदिएको बताए । उनले सरकारकै कारण प्रदेश बदनामीतर्फ उन्मुख भएको भन्दै सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी नगरेसम्म बैठक अवरुद्व गर्ने बताए ।
सांसद यादवले सम्पन्न योजनाको भुक्तानी नदिएका कारण प्रचण्ड गर्मीमा काम गरेका मजदूरलाई पनि पारिश्रमिक दिन नसकिँदा उनीहरुलाई समस्या भएको बताए ।
राजपाकै अर्का सांसद उपेन्द्र महतोले सम्पन्न भइसकेका योजनाको भुक्तानी नदिएका कारण महोत्तरीमा ठेकेदारले आफ्नो सामग्री नै खोलेर लगेको बताए । भुक्तानी रोकिएपछि महोत्तरीमा निर्माण भएको एक मन्दिरको झयाल र ढोका नै खोलेर ठेकेदारले लगेको बताउँदै सांसद महतोले यो लाजमर्दो कुरा भएको बताए ।
राजपाकै अर्को सांसद नेत्रविक्रम शाहले सरकार असफल भइसकेको टिप्पणी गरे । उनले सरकारका मन्त्रीहरु कमिसन लिएर मात्र भुक्तानी गर्ने गरेको आरोप लगाउँदै यो सरासर गलत भएको बताए ।
प्रदेश सरकारले सम्पन्न भइसकेका योजनाको झण्डै एक अर्ब भुक्तानी रोकेको बताउँदै महतोले भने, “के यही अवस्था देख्नका लागि हामीले संघीयताका लागि लडेका हौं ?”
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद शत्रुधन महतोले कमिसन दिन नचाहनेकै भुक्तानी रोकेको बताउँदै ३० प्रतिशतसम्म कमसिन दिनेलााई भुक्तानी दिइसकेको बताए । उनले एक साताभित्र भुक्तानी गरिदिने भनेर मुख्यमन्त्री प्रतिबद्वता जनाएपनि प्रतिबद्वता पूरा नगरेको बताए । यसले सरकार मनमानीतर्फ उन्मुख भएको उनको आरोप थियो ।
नेकपाकै सांसद रामचन्द्र मण्डलले सम्पन्न भइसकेका योजनाको निकासा नहुँदा आफ्नो क्षेत्रमा जान समस्या भइरहेको भन्दै भने, “जाने वित्तिकै उपभोक्ता समिति र मजदुरहरूले हामीलाई घेर्छन । एक, दुई पटक जवाफ त दिएँ, तर अब के भन्नु ?”
नेकपाकै अर्का सांसद मन्जु यादवले सरकारलाई भ्रष्टाचारीको संज्ञा दिँदै सरकार केटाकेटी चालमा चलिरहेको आरोप लगाइन । नेपाली कांग्रेसकी सांसद प्रमिला दासले आफूहरुले कमिसन नदिएकै कारण हालसम्म निकासा हुन नसकेको बताइन ।