
सुनसरीको धरानमा पेस्तोल सहित भारी परिमाणमा लागूऔषधमा संलग्न युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरीको साविक पश्चिम कुशाहा —४ हाल कोशी गाँउपालिका —३ स्थायी बसोबास गर्ने वर्ष २३ को रिनज कुमार राउतलाई इलाका प्रहरी कार्यालय धरानले सोमबार सार्वजनिक गरेको हो ।
धरान –१० विशाल पथबाट राउतलाई गोप्य सुचनाको आधार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले राउतको कोठाबाट पेस्तोल, लागूऔषध सहित फलामलाई बेरी काठको बिंड लगाएको, कोरिमेटी गरेको पेस्तोल,भारतीय बि.आर ५० के ४०५९ लेखिएको मोटरसाईकलको नम्बर प्लेट पेस्तोलमा लाग्ने म्याग्जिन , पेस्तोल १ थान, म्याग्जिन १ थान, १३ राउण्ड गोली बरामद गरेको छ ।
राउतको कोठा खानतलासी गर्दा डिलेक्स डिसी १०० एमएलको २ सय २५ बोतल लागूऔषध, नाइट्रोजन १० लेखिएको ६४ फायल अर्थात् ६४० ट्याब्लेट (गोटी), प्लाष्टिकभित्र रहेको खैरो होरोइन जस्तो देखिने ७ ग्रा
म, स्पासमो प्रोक्जोभिन प्लस ५३९ फायल अर्थात १२ हजार ९ सय ४४ क्याप्सुल (गोटी) फेला परेको प्रहरीले जनाएको छ ।
राउतले कोठामा बक्स पलङभित्र कालो प्लाष्टिकको झोलामा बेरी लुकाई राखेको हातहतियार तथा खरखजना र सोही बक्साहरुमा लुकाइराखेको अवस्थामा अवैध लागूऔषध फेला परेको प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
राउतको कोठाबाट लागुऔषध तौल गर्ने सानो डिजिटल मेसिन १ थान, नगद ११ एघार हजार ३ सय ३०, नागरिकता १ थान, धरान–काठमाण्डौ लेखिएको टिकट थान १, डायरी १ थान, हुवाई कम्पनीको ट्याब १ थान, सामसुङ मोबाइल १ थान बरामद गरेको उपरिक्षक नयौपानेले बताए ।
ठुलो परिमाणमा लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा राउतको बारेमा बुझ्न केहीदिनदेखि क्षेत्रीय अनुसन्धान समूह सहित धरान ईलाका सक्रिय रहेकाले राउत संगै लागुऔषध र हातहतियार बरामद गर्न प्रहरी सफल भएको उपरिक्षक न्यौपानेले जानकारी दिए ।
राउतको पार्टनर अन्य गिरोह पनि हुन सक्ने भएकाले उनीहरूको खोजी अभियान जारी रहेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका राउत प्रहरी कार्यालय, सुनसरीबाट २०७२ माघ २२ गते लागूऔषध कोरबार र नाइट्रोसन ट्याबलेट बोकी हिँडेको अवस्थामा पक्राउ परेका थिए । राउत लागूऔषध कारोबारमा पटक पटक पक्राउ परी मुद्दा दर्ता भई अनुसन्धान पश्चात धरौटीमा छुट्ने गरेको प्रहरीले जनाएको छ ।