
दिल बहादुर राई
धनकुटाको सरिफाले मुल्य पाउँदा स्थानीय आठपहरिया कृषकहरु खुशी देखिएका छन् । पहिला पहिला स्थानीय बजारमा सिमित हुने सरिफा जिल्ला बाहिर निर्यात भई राम्रो मुल्य पाएपछि सरिफा उत्पादक स्थानीय आठपहरियाहरु दंग भएका हुन् । स्थानीय बजारमा सस्तो मुल्यमा बिक्री गरिने सरिफाले यस वर्ष भने राम्रो मुल्य पाएको स्थानीय कृषकहरु बताउँछन् । धनकुटा बाहेक धरान, नारयणघाट, पोखरा, काठमाण्डौ जस्ता देशका ठूला शहरहरुमा सरिफा निकासी भएको कारण आठपहरिया वस्तीमा उत्पादन भएको सरिफाले राम्रो मुल्य पाएको हो ।
हरेक वर्ष सरिफा राम्रो उत्पादन भएपनि स्थानिय हाट वजारमा मात्र बिक्री हुदै आएकाले भने जस्तो मुल्य कृषकले नपाएको धनकुटा –४ लाँकुरेका स्थानिय व्यापारी कृषक जितेन्द्र आठपहरियाले बताए । व्यापारीले बोटैमा ४० देखी ६० रुपयाँ प्रतिकिलोका दरले खरिद गरी दिएकाले यस वर्ष सरिफा उत्पादन गर्ने कृषकले राम्रो मुल्य पाएको उनी बताउँछन् । धनकुटा नगरपालिका वडा नं. —८ साङ्गताङ, आसपासका टोलहरु पिप्ले, याक्चाना, सम्झना टोल याक्ते, पेलेकपाङ, तित्रिदाङ, टेकुनाला लगायतका स्थानमा कृषकले फलाएका सरिफा एकै ठाउँमा संकलन गरी जिल्ला बाहिरकोे वजारमा विक्री गर्न सफल भएकाले कृषकले यसपाली राम्रो मुल्य पाएको आठपहरियाले जानकारी दिए ।
जिल्लाको स्थानीय बजार वसपार्क, विहिवारे हटिया, हिले बजार, मुलघाट आदि ठाउँमा सस्तो मुल्य १५ देखी २० रुपैयाँमा बिक्री हुने सरिफा यस पटक व्यापारीले बोटैमा ४० देखी ६० रुपैया मुल्य तिरेपछि स्थानीय किसानलाई ठूलो राहात भएको साङताङकी स्थानीय व्यापारी सोनिका आठपहरियाले बताईन् । भदौ देखि अशोज अन्तिम सम्म सरिफाको सिजन भएकाले जिल्लाको मदनचोकमा सिजनभरीका लागि सरिफा संकलन केन्द्र खोलेको उनी बताउँछिन् । अहिले सरिफाको सिजन चलिरहेकाले हप्तामा २ पटक सरिफा गाउँवाट आउने गरेको सोनिकाले जानकारी दिईन् । हप्तामा ३ हजार किलोग्राम भन्दा सरिफा गाउँबाट संकलन केन्द्रमा कृषकले ल्याउने गरेको केन्द्रकी संचालक आठपहरियाले सुनाईन् ।
रोपेको ३ देखि ४ सालबाट फल राख्ने सरिफा थोरै लगानीमा उत्पादन हुने भएकाले कृषकलाई राम्रै फाइदा हुने स्थानीय कृषकहरु बताउँछन् । सरिफालाई गोडमेल र मलजलको आवश्यक नपर्ने हुँदा सरिफाबाट राम्रो आम्दानी हुने, ५८ वर्षिया कृषक पुर्णश्वरी आठपहरियाले वताईन । सुख्खा ठाउँमा सरिफाको वोट आफै मर्ने गर्दछ तर हल्का चिसो भेटेको सरिफाको बोटले भने राम्रो फल दिईराखेको अनुभव पूर्णश्वरीले सुनाईन्् ।