
विगत १८ वर्ष देखि विवादित बनेका धरान उपमहानगरपालिकाको बसपार्क निर्माण हुने भएको छ । स्थानीय संगको विवादलाई उपमहानगरपालिकाले सम्बोधन गर्ने भए पछि प्रदेश र संघीय सरकारको बजेटबाट धरानमा बसपार्क निर्माण हुने निश्चित भएको छ ।
धरानका बस पार्क साघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान ८ सुन्दरबस्तीमा बस पार्क सार्ने योजना अगाडि ल्याएको थियो । यस स्थानमा रहेको सर्वसाधारणको ३५ कट्टा जग्गा उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा समेत ल्याईसकेको थियो । तर कर्मचारीहरुले अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्न थाले पछि बसपार्क योजना अलपत्र परेको थियो । पछिल्लो समय कर्मचारीको नाममा रहेको जग्गा अधिग्रहण गर्ने र प्रदेश र संघीय सरकारको बजेटबाट बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ ।
वस्ती विकास आयोजनाको १ बिघा १५ कट्ठा जग्गामा स्मार्ट बसपार्कको डिपिआर तयार भएको हो । यसको कुल लागत अनुमान ४३ करोड गरिएको छ । ३ तहकै सरकारबीच समन्वय र सहकार्य गरेर बसपार्क निर्माण सम्पन्न गर्ने धरान उपमहानगरपालिकाले लक्ष्य लिएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताईन् । उनले भनिन्, ‘कर्मचारीको जग्गा अधिग्रहण हुन्छ, त्यसको लागि प्रक्रिया अघि बढाईसकेको छौं, जग्गाको प्लानिङ गर्दा कसैको जग्गा मुख सानो हुने, नमिलेको, कसैको टोईलेट काटिने, समस्याहरु थिए, ती गुनासाहरु सम्बोधन गरिसकेका छौं, उनीहरु संग छलफल गरेर अघि बढाएको छौं, निति र विधि प्रति जनताले सहमति जनाएका छन् ।’
२०७६ माघ २७ गते शिलान्यास बसपार्कका निर्माण गर्न धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गर्नुभएको थियो । १ नं प्रदेश सरकारले धरानको प्रमुख आवश्यकता मध्येको स्मार्ट बसपार्कको डिपिआर बनाएको हो । ऋर्षिकेश सर्भिसेस प्रालिले तयार गरेको डिपिआर प्रदेश सरकारले स्वीकृत गरिसकेको छ ।
डिपिआर अनुसार बसपार्क निर्माणको लागि पनि नगर विकास कोष (टि.डि.एफ.) सँग आवश्यक छलफल र परामर्श भईसकेको कार्यवाहक मेयर भण्डारीले बताइन् । उनले भनिन्, बजेटको लागि ३ वटै सरकार बीच समन्वय गछौं, र यही आर्थिक बर्षमा निर्माण कार्य शुरु गछौं ।’ लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि आयोजनाको समस्या समाधान गर्दै काम अघि बढाउन पटक पटक स्थानीयबासीसँग कार्यवाहक मेयर भण्डारीले छलफल गरेकी थिइन् । उनकै पहलमा आयोजनाको काम अघि बढेको हो । लामो समय देखि विवादित रहेको बसपार्क निर्माण हुने भए पछि जग्गादाताहरु पनि हर्षित भएका छन् ।
डिपिआर तयार गरेर उपमहानगरपालिकाले स्थानीय जग्गा दाताहरु संग छलफल गर्दै स्मार्ट बसपार्कको थ्रि डि पेश गरेको थियो । बसपार्क बन्ने भए पछि जग्गाको सदुपयोग हुनेमा विश्वस्त रहेको जग्गादाता मुकुल कायस्थ बताउँछन् । तर पनि बसपार्क निर्माणमा धरान उपमहानगरपालिकाले लगानी गर्न समस्या हुने भएकाले प्रदेश र संघीय सरकारबाट बजेटको सुनिश्चित गर्न आवश्यक रहेको कायस्थको सुझाव रहेको छ । धरानको बजारीकरण पनि बढ्दै गएकाले थप विकल्पहरु खोज्न पनि उनले सुझाए ।
स्मार्ट बसपार्कमा विद्युतीय बसको लागि पनि ठाउँ राखिएको छ । स्मार्ट बसपार्कको एउटा बिशेषता साना ठुला विद्युतीय बसको पार्किङ पनि हुने भएको छ । स्मार्ट बसपार्क बेसमेन्ट(अण्डरग्राउण्ड पार्किङ) सहितको ३ तलाको हुनेछ । डिजाइन अनुसार सबैभन्दा बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कार लगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमता हुनेछ । यस्तै, सतहमा ४९ वटा बस र १५ वटा सानो गाडी राख्ने ठाउँ हुनेछ । सतहबाट गन्तव्यमा छुट्ने गाडीहरु मात्र राखिनेछ । त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ (छुट्ने) संरचना निर्माण हुने हालको डिजाइन छ । डिजाइन अनुसार तेस्रो तला टर्निमल भवन यात्रुहरुको प्रयोगमा आउनेछ । त्यहाँ क्याफे, लाइब्रेरी र व्यपारिक कोठाहरु हुनेछ । स्मार्ट बसपार्कको सतहमा कुना तथा केही खाली स्थानमा फुलबारी(बगैचा) पनि निर्माण हुन्छ ।