
धनकुटा,
धनकुटामा सहिद रिदामाहाङ — रामलिहाङ आठपहरिया महिला गोल्डकप शुरु भएको छ । वाईवाई सहिद रिदामाहाङ–रामलिहाङ आठपहरिया महिला गोल्डकप प्रतियोगिता शुरु भएका हो । किरात आठपहरिया समाजको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा मोरङ ११ माथि भारी गोलको वर्षा गर्दै विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लव काठमाण्डौं विजयी भएको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो ।
प्रतियोगितामा एपीएफका स्ट्राइकर सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । त्यस्तै रेखा पौडेलले २ गोल गरिन् । यस्तै अनिता केसी, अनिता बस्नेत, मनमाया लिम्बु र गीता राना मगरले १–१ गोल गरेकी थिईन् । खेलको वुमन अफ दी म्याच सावित्रा भण्डारी भइन् । प्रतियोगितामा मोरङका तर्फबाट पोष्टमा कुनै आक्रमण गर्न सकिनन् । प्रतियोगितामा मोरङ एपीफका सामू निरिह देखिएका थिए । खेल एक तर्फी भएको थियो ।
प्रतियोगिताको दोस्रो खेल भोलि त्रिभुवन आर्मी क्लब र बराहक्षेत्र फुटबल क्लब चतारा सुनसरी वीच खेल हुने आयोजक समितिका कमल राईले जानकारी दिए । प्रतियोगितामा ८ वटा क्लव सहभागी रहेका छन् । प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका वीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका थिए । सो अवसरमा प्रमुख तामाङले आयोजक समितिको नाम लेखिएको व्यानरसहितको वेलुन उडाएका प्रतियोगितको उद्घाटन गरेका थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमले क्रमशः नगद २ लाख र एक लाख सहित ट्रंफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक सन्देश आठपहरियाले जानकारी दिए ।