समाचारस्वास्थ्यहेडलार्इन

चीनमा कोरोना भाइरसले तीन सय बढीको ज्यान लियो , चौध हजार बढीमा सङ्क्रमण देखियो

काठमाडौं ,

चीनमा कोरोना भाईसले सयौंको ज्यान लिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप बढीरहेको छ । भाइरसका कारण चीनमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन सय चार पुगेको अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार नाघेको चीन सरकारले बताएको छ । तीन सय ३० जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्किएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् ।

अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै पछिल्लो दुई हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई भने १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन ।

रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् । विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच शुरु गरेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने अमेरिका र अस्ट्रलियाको यस्ता उपाय विरुद्ध छन् ।
विश्व स्वास्थ्य सङ्गठन प्रमुखले शुक्रबार भनेका थिए, ’यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति र्पुयाउन सक्छ ।

’ विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्ने ठाउँमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ । सीमा बन्द गरेपछि यात्रुहरू अनाधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने विश्व स्वास्थ्य संङ्गठनको चेतावनी छ । शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक गरेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button