
चीनको बुहानमा भर्खरै जन्मिएको शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पहिलो पटक कोरोनाको बिरामी भेटिएको वुहानमा जन्मिएको शिशुमा ३० घण्टामा नै कोरोनाको सङ्क्रमण देखिएको हो । शिशुको आमा कोरोना सङ्क्रमित भए पनि शिशुमा कसरी सङ्क्रमित सरेको हो भन्ने बारेमा खुलेको छैन ।
उनी अहिले सम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएको बीबीसीले जनाएको छ । जन्मिएका बेला उनी तीन किलो २५ ग्रामका रहेका र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको खबरमा उल्लेख छ । ती शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ ।
गर्भमा रहेका बेलामा नै शिशु कोरोना सङ्क्रमित भएको अनुमान गरिएको छ ।
तर आमा कोरोना सङ्क्रमित भएकाले जन्मिएपछि आमाको नजिक हुँदा शिशुमा पनि सङ्क्रमण सरेको आशङ्का गरिएको छ । यसअघि दुई वर्षका बालकमा पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोनाका कारण चीनमा अहिले सम्म ५ सय ६३ जनाको ज्यान गैसकेको छ भने २८ हजार १८ जनामा सङ्क्रमण देखिएको छ ।