धरान,
सुनसरीको धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानको कार्यबाहक उपकुलपति र पदाधिकारी विच जुहारी भएको छ । कुनै समय पूर्वाञ्चलको गहना, भारत स्थित अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसको फोटोकपी, नेपाल भारत सम्बन्धको प्रतीकको रूपमा परिचित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विगत केही वर्ष देखी राजनीति र भ्रष्टाचारको अखडा तथा विराटनगरस्थित निजी मेडिकल कलेजहरुमा विरामी रिफर गर्ने, पठन पाठन अस्तव्यस्त भएको र सरकारको निमित्त सेतो हात्तिको रूपमा परिचित हुन थालेको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख घुस रकमसहित रंगे हात गिरफ्तार गरि मुद्दा दायर गरे पश्चात उनी निलम्बनमा छन् । भने, प्रतिष्ठानका निवर्तमान रजिष्ट्रार तुलबहादुर श्रेष्ठ दुई वटा भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालत धाउँदै छन् । प्रतिष्ठानका अन्य ७ व्यक्तिलाई समेत अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरिसकेको अवस्था छ ।
प्रतिष्ठानमा आजकाल शैक्षिक क्रियाकलापहरुको विषयमा विरलै छलफल हुन्छ । अझ गम्भीर कुरा त के छ भने प्रतिष्ठानका विद्यार्थीहरु समेत आफ्ना गुरुहरुको सीको गरेर प्रतिष्ठानको चेकमा नक्कली हस्ताक्षर गरेर रकम झिकेको आरोपमा मुद्दा धाउन थालेका छन् । विगत केही वर्षदेखि पठनपाठनको सुधार र चिकित्सा शिक्षाको तत्कालिन आवश्यकता सम्बन्धमा कुनै छलफल हुँदैन । कुनै समय अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानात्मक कार्यक्रम सञ्चालन हुने प्रतिष्ठानमा हाल विरलै त्यस्ता कार्यक्रम सञ्चालन हुने गरेको प्रतिष्ठानका सिनियर चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानका पदाधिकारी नै अध्ययनअध्यापन तथा अनुसन्धानलाई समेत ‘कमाउ खाउ’ धन्धा बनाउन उद्यत छन् । प्रतिष्ठानका पदाधिकारीहरुमा देखिएको बेमेलले यस्तो वातावरण तयार भएको हो भन्नेमा दुइ मत नरहेको चिकित्सकहरुकै धारणा छ ।
उपकुलपति डा। रौनियारको निलम्बन पश्चात प्रतिष्ठान झन् ठूलो आन्तरिक कलहमा फसेको थियो । हाल आएर त्यो कलह सतहमै देखिएको छ । प्रतिष्ठानका का।वा। उपकुलपति प्रा.डा. गुरु प्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाहविचको विवादले प्रतिष्ठान अस्तव्यस्त बनेको छ । ऐन नियम अनुसारको भूमिका संकुचित गर्न आफ्नो सिफारिस वेगर डेपुटी अस्पताल निर्देशक नियुक्त गरेर अबैधानिक रूपमा आर्थिक तथा प्रशासनिक कार्य का.वा. उपकुलपतिले सञ्चालन गरेको निर्देशक डा. शाहको आरोप छ । भने, अस्पताल निर्देशकले असहयोग गरेकोले आफुले उक्त कदम चाल्नु परेको का.वा. उपकुलपति डा. खनालको आरोप छ ।
का.वा.उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार समेतको अधिकार एकल रूपमा प्रयोग गरिरहेका डा। खनालले अस्पताल निर्देशक समेतको अधिकार घुमाउरो पाराले आफ्नो मातहतमा ल्याएर विभिन्न आर्थिक तथा प्रशासनिक निर्णयहरु एकल रूपमा गर्ने नियत राखेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाहले बताउने गरेका छन् । का.वा.उपकुलपतिले डमी अस्पताल निर्देशक जस्तै बनाएर सम्पूर्ण अधिकार आफु र डेपुटी अस्पताल निर्देशकमा राखेको डा.ाहको भनाई छ । प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरु आवास सुविधा, पानीको अभाव, स्थाई तथा बढुवा, सुरक्षा तथा तलव बृद्दिको निमित्त तडपिइरहेका छन् भने पदाधिकारीहरु सकेसम्म सार्वजनिक खरिदका निर्णयहरु मात्र गर्ने, एकले अर्काको सेखी झार्ने र उपकुलपति बन्ने बनाउने खेलमा बालुवाटार र सिंहदरबार धाउन व्यस्त छन् ।
आवास सुबिधा पहुँचवालाले मात्र पाएकोले रात्रीकालिन सेवाको निमित्त धरानको कुनै कुनाबाट राती नौ बजे ड्युटी गर्न आउने महीला कर्मचारी, नियमित बढुवा र स्तरोंनत्तिबाट बञ्चित शिक्षक तथा कर्मचारी, महिनौं देखी आवासमा पानीको अभाव भएर आवास छोड्न वाध्यहरु र विगत तीन वर्षदेखी तलव बृद्दी नभएर रासन पानी तथा बच्चाको स्कूल फीस तिर्न नसकेका कर्मचारीको सम्बन्धमा कुनै पदाधिकारीलाई चिन्ता छैन । ‘पदाधिकारीका अकर्मन्यताका कारण प्रतिष्ठान दिन प्रतिदिन ध्वस्त भइरहेको छ । उपकरण खरिद गर्ने, विभिन्न टेण्डर प्रक्रियामा पदाधिकारीहरु लाग्ने हो भने प्रतिष्ठानले ‘शिक्षा, स्वास्थ्य र अनुसन्धान’को उद्देश्यलाई धोती लगाईदिए हुन्छ । बरु प्रतिष्ठानलाई राजनीति कार्यकर्ता भर्ना गर्ने भर्ती केन्द्र बनाई दिए हुन्छ ।’ एक सिनियर चिकिस्तक भन्छन् ।
आन्तरिक जुहारी
प्रतिष्ठानको ‘चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले’ गत फाल्गुन ४ गते का.वा. उपकुलपतिको तलव बृद्दी सम्बन्धी धारणा सार्वजनिक गर्दै अन्य पदाधिकारीमाथि लान्छना लगाउनाले प्रतिष्ठान झनै चरम विवादमा फसेको छ । ‘शिक्षक कल्याण समाज त हामी सबैको हो तर, त्यसका पदाधिकारी आम शिक्षकको हकहीत छोडेर का.वा. उपकुलपतिका प्रवक्ता बने ।’ एक कास सदस्यले कोशीपोष्ट खबरसँग भने । ‘अब यिनीहरु प्रति हाम्रो विश्वास छैन, त्यसैले त्यसको खण्डन गरेर हामीले सार्वजनिक विज्ञप्ति निकालेको हो । यदि का.वा.उपकुलपतिले उक्त कुरा बोलेकै हो भने अब उहाँ सँग हाम्रो वारपारको लडाई हुन्छ । एकल निर्णयमा १५ करोड भन्दा बढीको खरिद भुक्तानी गर्न सक्ने अनि का.स.मा ल्याउँदै नल्याएको प्रस्ताव पारित हुन दिएनन् भनेर हामीलाई आरोप लगाउने ?’ उनले भने ।