काठमाण्डौं,
कोरोना भाईरस बराइनमा देखिएपछि नेपालीहरु त्रसित भएका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि त्यहाँ रहेका नेपालीहरु संक्रमणका कारण त्रसित बनेका हुन् । नेपालीहरु संक्रमित छन् कि छैन भन्ने अहिले सम्म खुलेको छैन ।
नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये बराइन पनि एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ । बहराइन सरकारले संक्रमण फैलिन रोक्ने उपायस्वरुप सबै शिक्षण संस्थाहरु मंगलबार देखि दुई हप्तासम्मका लागि बन्द गराएको छ । हवाई उडान पनि बन्द गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प रहेको छ ।
बहराइनमा होटल सञ्चालन गदै आएका काठमाडौंका ईश्वर पोखरेलले टेलिफोनमा कुरा गर्दै भने, ‘म काठमाडौंको ठमेलजस्तै यहाँको एरियामा होटल चलाउँछु । अहिले विदाको बेलामा पनि होटलहरुमा ग्राहकको चहलपहल छैन ।’ बहराइनस्थित दूतावासले सुरक्षा सचेतनाका लागि सूचना प्रवाह वा अन्य कुनै गतिविधि गरेको छैन । दूतावासको वेबसाइट र फेसबुक पेजमा पनि कोरोनासँग सम्बन्धित कुनै सूचना वा जानकारी राखिएको छैन । बहराइनमा हाल नेपाली राजदूत पदम सुन्दास छन्’ पोखरेलले सुनाए ।
बहराइनमा काम गर्दै आएका पोखरेलले भने, ‘यहाँ बस्ने नेपालीहरु त्रासमा छन् । हाम्रो जीवन रक्षाका लागि सरकारले के गर्दैछ ?’ कोरोना संक्रमण शुरु भएको चीनको बुहान सहरबाट नेपाल सरकारले १ सय ७५ जना नेपालीहरुलाई उद्धार गरेको थियो । बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । इरानबाट आएका तीन जना महिलाबाट कोरोना भाइरस सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानले सबै अन्तर्राष्ट्रिय उडान बन्द गराउनुभन्दा अगाडि नै ती महिलाहरु हवाईजहाजमार्फत् बहराइन आएका थिए । इरानमा १९ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिले २०१९ को डिसेम्बर अन्तिम साता चीनमा फेला परेको थियो । हाल ३० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाई सकेका छन् । कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ जना संक्रमित छन् । ३३ हजार २ सय ६ जना भने उपचारपछि स्वास्थ्य भई घर फर्किएको बताइएको छ ।