
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत
३२ बर्षीय धादिङ निवासी एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना
अधिकारी राजेश गुप्ताले बुधवार गरेका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा
पठाएको नमूना परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटमा पनि उक्त जानकारी दिइएको छ। मन्त्रालयका अनुसार हालसम्म
गरिएका ६८७ परीक्षणमा ६८४ जनाको नतिजा भने नेगेटिभ आएको छ। उच्च स्रोतका अनुसार नेपालमा भेटिएका तेस्रो संक्रमित
व्यक्ति युएईको दुबईबाट नेपाल आएका थिए। यसमा गम्भीर कुरा के छ भने उनी नेपाल आइसकेपछि धेरै घुमघाम गरेको र
होटलहरू तथा पार्टीमा समेत सामेल भएको स्रोतको दाबी छ।
कोरोनाको लक्षण देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए। अस्पतालले उनलाई
आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। उनमा कोरोनाभाइरसको
संक्रमण रहेको पुष्टि पहिलोपटक गएराति १२ बजे भएको थियो। कन्फर्म हुनका लागि बुधवार दोस्रोपटक गरिएको परीक्षणमा
पनि कोभिड-१९ पोजेटिभ पाइयो। अहिले उनको टेकु स्थित सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
नेपालमा यसअघि नै अन्य २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ। यस अघि फ्रान्सबाट आएकी १९ बर्षीय
युवती र चीनको वुहानबाट आएका युवकमा कोरोना भाइरस पोजेटिभ पाइएको थियो। चीनबाट आएका युवक निको भइसकेका
छन् भने फ्रान्सबाट आएकी युवती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छिन् ।
कोरोनाका पहिलो संक्रमित भने निको भइसकेका छन्। चीनको वुहानबाट आएका युवकमा कोरोनाको संक्रमण पाइएको थियो ।
उनी पूर्णरूपमा निको भइसकेको दाबी सरकारको छ ।