
धरान,
धरान उपमहानगरपालिकाले ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर प्राप्त गरेको छ । औषधी व्यवसायी संघ सुनसरीका जिल्ला सचिव तथा धरान १८ मा अवस्थित युनिक फार्मेसी संचालक पंकज झाले नगरलाई थर्मोमिटर प्रदान गरेको हो । स्थानीय सरकार धरान उपमहानगरपालिकालाई थर्मोमिटर सहयोग स्वरुप औषधी व्यवसायी जिल्ला सचिव झाले हस्तान्तरण गरेका हुन् । चैत्र १८ गते मंगलबार दाता झाले धरान नगर प्रमुख तिलक राई लाई थर्मोमिटर हस्तान्तरण गरेको हो ।
‘सहयोग भनेको सम्पतिले होइन भित्रि मनले गर्ने कुरा हो । अहिले सबै तिर (कोभिड –१९) कोरोना भाईसका कारण देशमा समस्या देखा परेको छ सरकारले रोग नियान्त्रण गर्न मुलुकमा लकडाउन गरेको छ । हाम्रो धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठान छ त्यसैको गेट अगाडी मेरो फार्मेसी छ, विरामीहरु ज्वरो नाप्न नपाएका कुराहरु सुन्दै आएका थिए । त्यसैबेला धरान उपमहानगरपालिकाले अन्त इन्फारेड थर्मोमिटर पाएन तपाई संग भएको थर्मोमिटर सहयोग गर्नु पर्यो भनेपछि म संग त्यही एउटा थर्मोमिटर थियो मैले सबैको हित हुने बुझेर धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुँ ’ औषधी व्यवसायी जिल्ला सचिव झाले कोशीपोष्ट अनलाईन खबर डककम संग भने
कोरोना आशंकामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको ज्वरो नाप्न यो थर्मोमिटर अति आवश्यक रहेको थिंयो । क्वारेन्टाइनमा बसेका बिरामीहरुको ज्वरो जाँच गर्न थर्मोमिटर आवश्यक भइरहेको बेला उपमहानगरपालिकाले यो थर्मोमिटर प्राप्त गरेपछि ज्वरो नाप्न सहज हुने डाक्टरहरुको भनाई छ । यो थर्मोमिटरले केही दुरीमा रहेर नै विरामीको ज्वरो जाँच गर्न सकिन्छ । सहयोग स्वरुप प्राप्त गरेको इन्फ्रारेड थर्मोमिटर धरानको फुस्रेस्थित सैनिक महाविद्यालयमा क्वारेन्टाइनमा रहेकाहरुका लागि प्रयोग गर्ने उपमहानगरले जनाएको छ ।
औषधी व्यवसायी जिल्ला सचिव पंकज झाले उक्त थर्मोमिटर धरानका मेयर तिलक राईलाई हस्तान्तरण गरेपछि मेयर राईले तत्काल स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई सो थर्मोमिटर प्रदान गरेका थिए । अहिलेको अवस्थामा इन्फ्रारेड थर्मोमिटर दुर्लभ बुटी जतिकै भएको मेयर राईले प्रतिक्रिया दिए । ‘यो थर्मोमिटर नपाएर हाम्रा कर्मचारीहरु आतंकित जस्तै भएका थिए, यसले अब धेरै सहज हुने भयो ’ मेयर राईले भने ।