
धरान,
धरानको खानेपानीमा अरबौंको भष्टाचार भएको स्थानीयको भनाई छ । एडिबीको खानेपानीे परीक्षणकालमा नै धारामा पानी नआएपछि धरानवासीले एडिवी खानेपानी आयोजनामा भष्टाचार भएको आरोप लगाएका हुन् ।
उपभोक्ताले आयोजना ल्याउने चरण देखि र जिम्मा लिने चरणसम्म नै भष्टाचार भएको बताएका छन् । नेपाल खानेपानी संस्थान धरान शाखाका तत्कालीन प्रमुख दिपक श्रेष्ठलाई रातारात सरुवा गर्नु, धरान उपमहानगरपालिकामा कार्यकाल पूरा गरी गएका टिकादत्त राईलाई नै कार्यकारी अधिकृतमा पुनः ल्याउनु, सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति मार्फत उपभोक्ताहरुले आयोजनाको व्यापक जनविरोध गरीरहेका छन् । यसर िबिरोध भईरहदा समेत सम्बन्धीत मन्त्रालय, राजनीतिक दल, नागरिक समाज, पानी विशेषज्ञ तथा प्राविधकहरुले आयोजनाको पक्षमा वकालत गरेकाले सबैको मिलेमहतोमा भष्टाचार भएको उपभोक्ताहरुको आरोप छ । परिक्षणकाल चलीरहेको बेला आयोजनाले डि.पि.आर. बमोजिम खानेपानी उत्पादन र वितरण गर्न नसक्नु, भनेको आयोजना फेल भएको उनीहरु बताउँन् । सन् २०३१ सम्मका लागि डिजाईन गरिएको आयोजनाको परीक्षणकालकै चरणमा दुईवटा डिप वेल थप्दा समेत सम्झौता बमोजिम पानी उत्पादन र वितरण हुन नसक्ने अवस्थामा नै धरान उपमहानगरपालिकाले आयोजना जिम्मा लिइनुले आयोजनामा व्यापक भष्टाचार भएको प्रमाणित हुन आउछ उपभोक्ताहरु भन्छन् ।
आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले धरानका जनता तथा उपभोक्ताहरुले लगाएको आरोपलाई सिधै गलत भन्न नसकिने बताए । आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर मात्र आयोजना जिम्मा लिने वा नलिने निर्णय गरिनुपर्ने गोलेको भनाई छ । ‘रेलवे सिष्टममा २६ एल.पि.एस. (दैनिक २२ लाख ४६ हजार ४ सय लिटर) तथा पिण्डेश्वर सिष्टम र सुम्निमा सिष्टममा ९४ एल.पि.एस. (दैनिक ८१ लाख २१ हजार ६ सय लिटर) गरी जम्मा दैनिक १ करोड ३ लाख ६८ हजार लिटर पानी उत्पादन गरी दैनिक २४ सै घण्टा ७ मिटरको प्रेसरमा मिनरल वाटर जस्तो गुणस्तरीय पानी वितरण गर्ने आयोजनाको डिजाईन तथा डि.पि.आर. मा स्पष्ट उल्लेख गरिएको भएतापनि यथार्थमा औसत ६२ लाख लिटर पानी उत्पादन भईरहेको, दैनिक एवम् नियमित पानी धारा मार्फत वितरण गर्न नसक्दा अहिले ट्याङ्करवाट पानी वितरण गर्नुपरिरहेको अवस्था छ’ संयोजक गोलेले कोशीपोष्ट डटकम संग कुरा गदै भने ।
‘हाल डिजाईन तथा डि.पि.आर. बाहेक पछि थपिंदै गरिएको दुईवटा वेलको पानी थप गरेता पनि अनुगमन समितिसंग कुनै समन्वय र सहकार्य नगरी आयोजनाको कम्जोरी ढाकछोप गर्न धरान उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्ड उद्दत रहेको पाईएको छ । फुस्रेस्थित वाटर ट्रिटमेन्ट तथा फिल्टर प्लान्टको पनि परीक्षण तथा अनुगमन गर्न आवश्यक देखिएकाले यसको परीक्षण वर्षायाम लागेपछि असार साउनमा मात्र गरिनुपर्ने हो’ संयोजक गोले भन्छन् ।