
धरान,
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि धमाधम बजार र टोलबस्ती सिल गर्न थालिएको छ । झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि विलम्ब नगरी गाउँपालिकाका पाँचवटा वडाहरू सिल गरिएको हो । आवतजावतमा कडाइ गर्ने, क्वारेन्टाइनको निगरानी र अति आवश्यक सेवा बाहेक सबै पसल र बजार बन्दा गरिने बताईएकोे छ । भारतबाट कचनकवल छिरेका ९ जनामा एकै पटक मंगलबार र सोमबार एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘रोगलाई बस्तीमा फैलन नदिन र रोक्न जोखिमयुक्त वडालाई सिल गर्ने निर्णय गरेका छौं,” कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने, “मुख्यतः संक्रमण फैलन नदिने र बाहिरबाट आएकालाई क्वारेन्टाइनमा लैजाने काममा हामीले ध्यान केन्द्रित गरेका छौं ।’
भारत सँग सिमा जोडिएका पालिकाको सात मध्ये पाँच वटा वडा (१, २, ३, ४ र ५) सिल गरिएको छ । यी सबै वडा भारतसँग जोडिएका छन् । कचनकवलमा भारतबाट आएका मानिसको तथ्यांक आकलन गरी क्वारेन्टाइन स्थल थप गर्ने तयारी पनि थालिएको छ । सोही क्षेत्रका प्रदेश सांसद वसन्त बानियाँका अनुसार भारतबाट अझै मानिसहरू आउने देखिएको छ ।
गत, शनिबार मात्र भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जनालाई पथरिया माविको क्वारेनटाइनमा राखिएको छ । उनीहरू मध्ये बाटै १० जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । अरूको रिपोर्ट आउन बाँकी छ । कचनकवलका संक्रमितलाई विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कचनकवलका संक्रमितहरू भारतका विभिन्न राज्यबाट रेल र ट्रक चढेर आएका हुन । खुल्ला सिमा भएका कारण मानिस लुकिछिपी आउँदा चुनौती थपिएको पालिकाका अध्यक्ष आलम बताउँछन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका २ र ३ लाई सिल गर्ने निर्णय लिएको छ । वडा २ मा संक्रमित फेला परेपछि त्यसलाई पाँच दिनका लागि सिल गरिएको हो । यसैगरी ३ मा पनि अनावश्यक आउजाउमा पूर्णतः रोक लगाई भाइरस सर्ने किसिमका कुनै गतिविधि गर्न नदिन उपमहानगरले निर्णय लिएको छ । उपमहानगरले १८ वडामा पाँच दिनसम्म कडीकडाउ गर्ने निर्णय गरेको छ । मेयर द्वारिकलाल चौधरीले सतर्कता अपनाउन र स्थानीय सरकारले रोग नियन्त्रणको प्रयासमा गरेको कार्यमा सहयोग गर्न नगरवासीलाई सार्वजनिक आह्वान गरेका छन् ।
सुनसरीको बराह क्षेत्र नगरपालिका ११, मधुवनमा एकजनामा कोरोना संक्रमण देखिएपछि नगर कार्यपालिकाले दुईवटा वडा सिल गर्ने निर्णय लिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले अस्पताल, स्वास्थ्यचोकी, मेडिकल क्लिनिक र औषधी पसलबाहेक सम्पूर्ण आवागमनमा रोक लगाउने निर्णय लिइएको जानकारी दिएका छन् । उनले भने, ‘नगरवासीमा रोगको संक्रमण फैलन नदिन नै हामी सतर्क भएका हौं ।’
धनकुटामा ६ जना संक्रमित फेला परेपछि धनकुटा जिल्ला अस्पताल सिल गरिएको छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी महिलामा पहिलोपटक संक्रमण देखिएको थियो । मंगलबार अस्पतालका तीन स्वास्थ्यकर्मी, परिवारका सदस्य र सुरक्षागार्ड समेत गरी थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको धनकुटा जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिएका छन् । अस्पतालका सबै सेवा र औषधी पसलहरू समेत बन्द गरिएको पोखलेले बताए ।
धनकुटाको बसपार्क देखि जिरोपोइन्ट, जिरोपोइन्टदेखि परिचयमोड, परिचयमोडदेखि यलम्बर चोक, यलम्बर चोकदेखि धनकुटा सिनेमा हल, सिनेमा हलदेखि याक्चनाचटार जाने बाटो हुँदै त्रिवेणी चोकसम्म, चोकदखि पशु अस्पतालसम्मको क्षेत्र सिल गरिएको छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले गस्ती गर्दै आएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको प्रदेश राजधानी विराटनगरबाट गएको स्वास्थ्य प्राविधिक टोलीले जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उनीहरूका परिवारको गरी ८३ जनाको स्वाब संकलन गरेको छ । ती मध्ये ६६ को रिपोर्ट आउँदा ५ जनामा कोरोना संक्रमण फेला परेको थियोे ।
विराटनगरका संक्रमित फेला परेसँगै दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको ६ र १५ वडाका बस्तीमा लकडाउनमा कडाइ गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, “वडामा भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्ने निर्णय भएको हो ।” पराजुलीले ती वडामा अति आवश्यक सेवा बाहेक सबै सेवा प्रवाह गर्ने निकाय बन्द गरिएको जानकारी दिए । मोरङको पथरी घर भएका एक सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नगरपालिकाले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको हो । नगर प्रवेश गर्ने नाका बन्द गर्ने, पसल नखोल्ने र अनावश्यक आवतजावतमा कडाइ गर्ने रणनीति बनाइएको छ । प्रदेश १ मा संक्रमित हुनेको संख्या ५९ जना पुगिसकेको छ । कोशी अस्पतालमा उपचार पछि १८ जना डिस्चार्ज भईसकेका छन् ।
https://www.youtube.com/watch?v=g1m9LDudqPc&t=2s