
धरान,
निरन्तरको बर्षाको कारण सप्तकोशी नदीमा पानीको वहाव बढेकोे छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव बढेको हो । गएराति देखि लगातार पानीको वहाव बढेको कोशी ब्यारेजस्थित नेपाल प्रहरीका असई कुलबहादुर खत्रीले जानकारी दिए । पहाडी क्षेत्रमा बर्षा भइरहेकोले पनि वहाव उच्च भएको उनले भने ।
यसअघि असार १२ गते कोशीमा वहाव १ लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको थियो । त्यसपछि निरन्तर घट्दै गएर १ लाख १२ हजारमा झरेको थियो । तर, हिजो साँझदेखि भने निरन्तर बढ्दै गएको असई खत्रीले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा रहेको ५६ वटा ढोकाममध्ये ३० वटा खोलिएको छ ।
कोशीमा पानीको बहाब डेढ लाख मापन गरिए पनि रातो बत्ति बालेर सर्वसाधारणहरुलाई सचेत गराउने गरिन्छ । यस्तै, २ लाख कटेपछि दोस्रो रातो बत्ति बल्छ भने पानीको वहाव ३ लाख नाघे पछि बीचमा पनि अर्को बत्ती बल्छ र रातो झण्डा पनि राखिन्छ । कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ ।