
ईलाम,
लामो लकडाउनका कारण चियामा लाखौं घाटा लागेको छ । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको हो । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण लकडाउन भएपछि कृषक र श्रमिक नोक्सान बेहोर्नु परेको कृषकहरु बताउँछन् । किसानले चियाको हरियो पत्ता टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन नसक्दा प्रशोधन गर्ने उद्योग र व्यापारीले पनि घाटा बेहोर्नु परेको छ ।
विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो मौसमको चिया अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न नसकेको किसानहरु बताउँछन् । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बाले जानकारी दिए । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको भनाई छ ।
‘हामी चीन लगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन’, सुब्बाले सुनाए । ‘चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन । लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो, सिजनमा लकडाउन भएकाले चियाको भुक्तानी दिन सकिएन धेरै चिया किसान–श्रमिक रिसाएका छन् श्रमिकलाई भुक्तानी गर्ने इच्छा भएर पनि दिन सकिएन’ सुब्बाले देखेसो पोखे ।
बन्दाबन्दीले चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँ सुनाउँछन् । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पु¥याउन भने अझै समस्या पर्ने गरेको उनको भनाइ छ । ‘एक पटके चिया चाहिँ गइसक्यो, लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो । तर अहिले अवस्था केही सामान्य बनेको छ तैपनि काम भने सुचारु गर्न सकिएको छैन’ चापागाइँले सुनाए ।
https://www.youtube.com/watch?v=VlajQpy4g4I&t=324s