समाचारस्थानीय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. गिरीको दादागिरी, अख्तियार लगाउने धम्की दिँदै

धरान,

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भष्टाचार मौलाउन थालेको छ । विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र गिरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएपछि प्रतिष्ठानमा गाइजात्रा शुरु भएको हो । प्रतिष्ठान एउटा विश्व विद्यालय हो तर उपकुलपति डा. गिरीलाई विद्यार्थीको पढाई लेखाई र अनुसन्धानको क्षेत्रमा कुनै चासो छैन । अस्पताल सेवाको वेहाल छ । प्रतिष्ठानका शिक्षाध्यक्ष, अस्पताल प्रमुख र कार्यकारी समितिलाई अधिकारविहीन बनाएर खरिद मूल्यांकन समितिका संयोजक तथा स्त्रीरोग चिकित्सक डा. मोहनचन्द्र रेग्मी र सल्लाहकार दिलिप भट्टराईलाई राखेर प्रतिष्ठानका सबै निर्णय गर्ने गरेका उपकुलपति डा. गिरीले प्रतिष्ठानको नियमावली विपरित काम गदै आएका छन् । कुनैपनि निर्णय गर्दा नियम कानून अनुरुप जाउँ भन्ने पदाधिकारीहरुलाई उलटै कार्वाही गर्ने धम्की दिने गरेको कर्मचारीहरु बताउँछन् । छेपारोले झै पार्टी परिवर्तन गरी पद हत्याउने रेग्मी फिस्टुला, युरो गाइनो फेलोसीप र ट्रिटमेन्टमा बार्षिक लाखौ असुल्दै विगतदेखि नै उपकुलपतिलाई गुमराहमा राखी डब्लुएचओले निःशुल्क उपचारमा दिएको डोनेशनको खोजी कसले गर्ने ?

प्रतिष्ठानको सबै शैक्षिक क्रियाकलापको बेहाल

नियुक्ति भएको तीन महिना वितिसक्दा समेत उपकुलपति डा. गिरीले प्रतिष्ठान अन्तर्गतका स्कूल अफ मेडिसिन, नर्सिङ्ग कलेज र डेन्टल कलेजमा पाइलासम्म नटेकेको एक विद्यार्थीले बताए । उनले भने महिनौ देखि विद्यार्थीको पठन पाठन बन्द छ, देश विदेशका विद्यार्थी अलपत्र परेका छन्, काम नभएर विशेषज्ञ प्राध्यापकहरु दिन गनेर बसेका छन, नियमित वैठक र सेमिनारहरु स्थगित छन् तर उपकुलपति डा. गिरीलाई यसको कुनै मतलब छैन ।

नोबल मेडिकल कलेजमा पैसाको झगडा पछि विराट मेडिकल कलेज पुगेका र विहानदेखि बेलुकासम्म विरामी र विद्यार्थीको शुल्क गन्ने बानी परेका गिरी प्रतिष्ठानमा आएपछि पनि विहानदेखि बेलुकासम्म उपकरण खरिद र भवन निर्माणबाहेक अन्य कुनै काम नगर्ने गरेको एक प्राध्यापकले बताए । उनले भने गिरीलाई आधुनिक चिकित्सा विज्ञान भनेकै विरामी र विद्यार्थीसँग सकेसम्म पैसा असुल्नु हो । उनले भने आज प्रतिष्ठानका प्रयोगशालाहरु जर्जर छन्, जनशक्तिको समुचित प्रयोग भएको छैन । लाइब्रेरी लाजमर्दो अवस्थामा छ, इमरजेन्सी सेवाको बेहाल छ, वार्डहरुमा ब्लड प्रेसर र ज्वरो नाप्ने उपकरण अनि घाउ सफा गर्ने सामाग्री समेतको अभाव छ । तर उपकुलपति डा। गिरी विहानदेखि बेलुकासम्म करोड र अरबका योजना बुनेर बस्छन, उनी उपकुलपति नभएर खरिद अधिकारी भएर आउनुपर्ने व्यक्ति रहेछन् अस्पताल प्रशासनका एक अधिकतले भने ।

अख्तियारमा मेरो मान्छे छ, सबैलाई भित्र हाल्छु

उपकुलपति डा. गिरीका सल्लाहकार दिलिप भट्टराई मध्ये पश्चिमाञ्चल विश्व विद्यालयमा डा. उपेन्द्र कोइराला उपकुलपति रहँदा निजका पिए थिए । डा.उपेन्द्र कोइराला डा. गिरीका अभिन्न मित्र हुन् । उठ्ती धन्दामा नाम कमाएका कोइरालाले भट्टराइलाई आफ्नो कार्यकालमा प्रयोग गरेका थिए । डा. कोइरालाकै सल्लाह बमोजिक उपकुलपति डा. गिरीले भट्टराईलाई सल्लाहकारमा नियुक्ति गरेर प्रतिष्ठानको तालाचाबी दिएर राखेका छन् ।

 

प्रतिष्ठानका एक कार्यकारिणी सदस्यले दिएको जानकारी अनुसार डा.उपेन्द्र कोइराला एकातिर उपप्रधानमन्त्री इश्वर पोख्रेलका सम्धी हुन भने अर्कोतर्फ अख्तियार प्रमुख नविन घिमिरेका साढु दाई हुन । तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले आफ्नो घरमा ‘बार्गेनिङ्ग सेन्टर’ चलाएको उजागर भएको थियो । उपकुलपति डा. गिरीका सल्लाहकार भट्टराईले बेला बेलामा आफ्नो बेलुकाको सिटिङ्गमा शिक्षाध्यक्ष र निर्देशक दुवैजनालाई अख्तियार लगाउने, डा. मोहन चन्द्र रेग्मीलाई अस्पताल निर्देशक वा रजिष्ट्रार बनाउने आफ्नो र उपकुलपतिको योजना चुहाउने गरेको उनका निकटस्थ स्रोतले जनाएको छ । ‘हिजो आज उपकुलपति डा। गिरी र सल्लाहकार भट्टराई काठमाण्डौ लेखाको भुक्तानी गर्न गएका छन् । प्रतिष्ठानमा कुनै पनि सल्लाहकारले यसरी कर्मचारी सरह काम कारबाही गर्नु प्रतिष्ठानको नियमावलीले दिँदैन । तर यहाँ त गाइजात्रा शुरु भयो, एक कर्मचारीले भने । हुँदैन भनौ भने भोलि नै कार्वाही गर्छन्, हुन्छ भनौ भने आफै कुन दिन फँसिने हो उनले भने ।

कार्यकारिणी समितिलाई पंगु बनाउने योजना

गत हप्ताको कार्यकारिणी समितिमा उपकुलपति डा. गिरीले राखेका ७२ वटा प्रस्तावमध्ये ७१ वटा प्रस्ताव अस्विकृत भई तलब बृद्धि सम्बन्धी एक प्रस्ताव मात्र पारित भएपछि उपकुलपति डा गिरी हान्निएर स्वास्थ्य मन्त्री भेट्न काठमाण्डौ पुगेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार मन्त्रीसँग भेटेर उनले शिक्षाध्यक्ष र अस्पताल निर्देशक लगायत सबैले असहयोग गरेको, सबै भ्रष्ट रहेको लगायत भनाई राख्दै आफ्नो पकडको रजिष्ट्रार नभए प्रतिष्ठान सञ्चालन गर्न नसकिने हुँदा रामप्रसाद पञ्जीयारलाई रजिष्ट्रार नियुक्ति गर्न प्रस्ताव गरेका छन् । पंजियार उपकुलपतिका कलेज अध्ययनताकादेखिका रंग रंगीला दोस्त हुन् । पंजियार तिनै व्यक्ति हुन् जसलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन निर्देशक मदनप्रसाद उपाध्यायले फर्निचर खरिदमा घोटाला गरेको प्रमाणसहित अस्पताल प्रशासनको जिम्मेवारीबाट ६ महिनामै प्रतिष्ठानबाट बर्खास्त गरेका थिए । त्यसबेला निजमाथि महिलामाथि अभद्र व्यवहार गरेको आरोप समेत लागेको थियो ।

तलब कागजमा मात्र बढ्यो , शिक्षक कर्मचारी हिस्स

गत आर्थिक बर्षदेखिकै तलब भत्ता बढाएको घोषणा गरेका उपकुलपति डा. गिरीले अर्थिक बर्ष सकिदा समेत बढेको तलब दिन सकेका छैनन् । प्रतिष्ठानको आन्तरिक आयको पैसा उपकरण र भवन निर्माणमा खर्च गर्ने, व्यापारीलाई चेक दिन सबै चेकबुक नै बोकेर राजधानी जाने अनि बढेको तलबचाहिँ नदिने, यो के चाल हो ? शिक्षक र कर्मचारी युनियनले किन यसरी घुँडा टेकेका होलान् ? अचम्म लाग्छ, एक प्राध्यापकले आश्चर्य व्यक्त गरे ।

डा. गिरी विरुद्धको उजुरीमा अख्तियारले चासो देखाएन

प्रतिष्ठनको उपकुलपतिमा नियुक्ति भएर आएको केही दिनपछि नै कमाउ धन्दामा लागेको देखेर आजित भएका एक अधिकृत कर्मचारीले आफूले डा. गिरीका अनेकन कर्तुतहरुको प्रमाण सहित उजुरी हालेको तर अख्तियारले सामान्य सोधपुछ समेत नगरेकोमा आश्चर्य व्यक्त गरेका छन । उनले भने डा. गिरीको कोभिड अस्पताल निर्माण सम्बन्धी ७० लाख खर्चको निर्णय, मातृ शिशु भवनको २ बर्ष म्याद थप र २१ करोड भुक्तानीको एकल निर्णय, कोभिड अस्पतालको निम्ति करोडौका उपकरण खरिदसम्बन्धी निर्णयहरुमा करोडौ घोटाला भएको छ तर अख्तियारले चासो देखाएको छैन । डा. उपेन्द्र कोइराला र सलहकार भट्टराइको सेटिङ्गले काम गरेको होला, ती अधिकृत भन्छन् ।

लेखा शाखाका अर्का एक कर्मचारी भन्छन् बढेको तलब कसैलाई खुवाइएको छैन । जुनियर क्लर्कदेखि प्राध्यापकसम्म कसैले पाएका छैनन् । कहिले बाँड्ने हो ? कुन मितिमा बाड्ने हो थाहा छैन । बजेटको उपलब्धता भयो भने दिने भनेको छ नभए नदिन पनि सक्छन् । उनले भने आइसोलेसन, कोभिड अस्पताल, धर्मशााला त्यसै लथालिंग बनाइएको छ । भिसिीले कोभिड अस्पताल हेर्ने भनेर डाइरेक्टर नियुक्त गरेका छन् । अस्पताल निर्देशक नै मुख्य पदाधिकारीको रुपमा काम गर्ने भनेर नियमावलीमा उल्लेख छ । उनले भने कोभिड अस्पताल मुख्य मन्त्री ल्याएर तामझामका साथ उद्घाटन गरे तर अहिलेसम्म सञ्चालनमा आएको छैन । गफै मात्र गरेर हुँदैन । आएका विरामीलाई आइसोलेसनको वार्डमा राखिएको छ । अब जाँच शुरु हुन लागेकाले डा विक्रम श्रेष्ठले निर्माण गरिदिनु भएको धर्मशालामा राखिएको छ । धर्मशालाका सबै विरामीलाई बाहिर निकालेर अलपत्र पारिएको छ । उनीहरुको अत्यन्तै विजोग भएको छ ।

https://www.youtube.com/watch?v=0_MgXsCTLOU

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button