
मोरङ
मोरङको बिराटनगर चिकित्सकको सम्पर्कमा आए ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका विराटनगर अस्पतालका डाक्टरको सम्पर्कमा आएकामा संक्रमण पुष्टि भएको छ । गएको मंगलबार संक्रमण पुष्टि भएका ६५ वर्षीया डाक्टरको सम्पर्कमा आएका ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । ती मध्ये २१, ३०, ३१ र ५६ वर्षका चार जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु चारैजना अस्पतालमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । अरु ५४ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
अस्पतालमा करिब तीन सयको संख्यामा कर्मचारी कार्यरत रहेका छन् । पहिलोचरणको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका एक कर्मचारीले अस्पताल सिल गरेसँगै सबैको परीक्षण गर्न आवश्यक रहेको बताए । पछिल्लो पटक पोजेटिभ देखिएका चारजनासँग अन्य कर्मचारी पनि सम्पर्कमा भएको हुनसक्ने बताएका उनले सबैजना अन्यौलमा रहेको जानकारी दिए । उनका अनुसार पोजेटिभ देखिएका चारजना स्वास्थ्यकर्र्मी एवं स्टाफ नर्स हुन् ।
संक्रमित चिकित्सक रहँदै आएको बुढीगंगा गाँउपालिकाको टंकीसिनुवारीमा अवस्थित विराट शिक्षण अस्पतालमा समेत पीसीआरको दायरा बढाउनु पर्ने उनीहरु जोड दिन्छन् । गएको मंगलबार अस्पतालका ६५ वर्षीय चिकित्सकमा पहिलोपटक संक्रमणको पुष्टि भएको थियो । संक्रमण थाहा पाएपछि ती शिक्षक सम्पर्क बिहीन भएका थिए ।
झण्डै ३८ घण्टापछि महानगरको सम्पर्कमा आएका उनी शुक्रबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । एक रात बीपीमा भर्ना भएका उनी शनिबार काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएकाछन् । महानगरले विराटनगर अस्पतालमा आवतजावत रोक्ने गरी सीलबन्दी गरेको छ ।