
विराटनगर,
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले जनधनको सुरक्षा तथा शान्ति सु–शासन कायम गर्न प्रदेश सरकारलाई दबाब दिएको छ । प्रदेश सरकारले जनताको हितमा काम नगरेको कांग्रेसको आरोप छ । नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलले जनताको अगाडी मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समय काठमाडौँ बसेको आरोप सम्म लगाउन भ्याएका छन् । काँग्रेस प्रमुख सचेतक केदार कार्कीद्धारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै काँग्रेसले यस्तो आरोप लगाएको हो ।
सरकारले आफ्ना भ्रष्टाचार र कमजोरी लुकाउन कोरोनालाई अवसरको रूपमा प्रयोग गरेको र जनताको उपचार एवम कोरोना नियन्त्रणमा सरकारको काम लाजमर्दो भएकोे विज्ञप्तिमा उल्लेख छ । प्रतिप्रक्षि दलले कडा शब्दमा सरकारको आलोचना गदै विज्ञप्तिमा कोरोना सङ्क्रमितको उपचारमा सरकारको लाचारी देखिएको तथा परीक्षणको दायरा बढाउन नसकेको भनिएको छ ।
तामझाम तथा हल्लाखल्ला गरेर उद्घाटन गरिएको भनिएका अस्पतालहरू अझै पूर्ण रूपमा सञ्चालनमा नआएको तथा मुख्यमन्त्रीले सामाजिक सञ्जालबाट भ्रम छरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । ‘प्रदेश सरकार केवल केन्द्रको मुख ताक्ने, सङ्घीय सरकार जस्तै गैर जिम्मेवार र निकम्मा भएको जनताले महसुस गरेको सजिलै अनुमान गर्न सकिन्छ । फेरि पनि सरकारलाई पिसिआरको दायरा बढाउन र भेन्टिलेटर सहितको अस्पताल तु व्यवस्था गर्न जोडदार माग गर्दछौँ ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
https://www.youtube.com/watch?v=smmUt7GvTbY