
सर्लाही,
पूर्वपश्चिम लोकमार्ग सडकमा खाल्डाखुल्डीका कारण दैनिक जसो दुर्घटना हुने गरेको पाइएको छ । सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डाका कारण दैनिक दुर्घटना हुने गरेको हो । खाल्डाका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान नसकेको स्थानीयहरु बताउँछन् ।
स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् तर सडक डिभिजन कार्यालय निर्माणको चरणमा रहेको भन्दै डिभिजन कार्यालय पन्छिने गरेको छ । पानी परेपछि हिँड्नै नहुने गरी आहाल हुने गरेको छ भने सडकमै ठूलाठूला खाल्डा भएकाले पैदलयात्रीहरुलाई हिँडडुल गर्न समस्या हुन थालेको छ । सो विषयमा सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहलाई पटकपटक गुनासो राख्दा ासमेत ध्यान नदिएको लालबन्दीका स्थानीय युवा रमेश अधिकारीले सुनाए ।
केही महिना अघि सो सडकखण्डमा परेका खाल्डा अलकत्रामा गिटी र बालुवा मिसाएर टाल्ने काम भएको थियो तर पछिल्लो समय आएर सडकको आवस्था जस्ताको तस्तै भएपछि स्थानीयवासीले सरकारी कामप्रतिको चरम लापरवाहीको चर्को विरोध गरेका छन् । सो सडकखण्डका विभिन्न स्थानका खाल्डा ज्यानमारा धरापका रूपमा परिणत हुँदै आएका बेला सडक डिभिजन कार्यालयले खाल्डा पुर्न गुणस्तरहीन सामग्री प्रयोग गरेको लालबन्दीका स्थानीय लक्ष्मण खड्काले बताए ।