
धरान,
स्वा.सुनिहाङ्मा लिम्बुको श्रीमान्लाई नेपाल झिकाएर अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग राख्दै माईती पक्षले धरानको भानुचोकमा दीप प्रज्वलन गरेका छन् । .सुनिहाङ्माको मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने भन्दै मंगलबार दीप प्रज्वलन गरिएको हो । गत भदौ २२ गते सुनिहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको भए पनि हाल सम्म मृत्यु प्रकरणको बारेमा पिडकलाई कारबाही हुन नसकेको माईती पक्षको भनाई छ । सिंगार पुलिसमा कार्यरत मृतकका पति आईतराज माबोलाई नेपाल झिकाएर अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै स्व. सुनिहाङ्माकोे न्यायका लागि संघर्ष अभियान समिति गठन गरिएको समितिका संयोजक मोहन प्रसाद तिगेलाले बताए । अनुसन्धानमै शंका उत्पन्न हुन थालेको समेत तिगेलाले बताए ।
सुनिहाङ्माको मृत्युको घटना शंकास्पद भएकोले सुनिहाङ्माको न्यायको लागि सबैले साथ दिनुपर्ने र घट्नाको मसिनो तरिकाले छानबिन गरिनु पर्ने छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । धरान(११ सितल पथ निवासी सिंगापुरे लाहुरे युवि भनिने आइत माबोसंग ३ महिना अघि विवाह गरेकी २५ वर्षीया सुनिहाङ्मा लिम्बु गत भदौं २२ गते उनकै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनी झुन्डिएर आत्महत्या गरेको भनेर ढिलो गरी माइतीलाई खबर गरेको र माइती आउँदा झुन्डिएको अवस्थामा नभई बेडमा सुताइएको अवस्थामा फेला पारिएकोले मृत्यु रहस्यमय भएको भन्दै माइती पक्ष न्याय माग्दै विभिन्न संघ संस्था र राजनीति दलहरु संग न्यायका लागि सहयोग माग्दै संघर्षमा उत्रिएका छन् । मृतक सुनिहाङ्माको श्रीमान् आइत माबोको नाममा पनि किटानी जाहेरी दिइएको भए पनि प्रहरीले अहिले सम्म अनुसन्धानको लागि सिंगापुरबाट नेपाल नझिकाएको भन्दै उनलाई तुरुन्त नेपाल झिकाएर अनुसन्धान थाल्नु पर्ने माईती पक्षको भनाई छ ।
‘सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा व्यापक आशंकाहरु उब्जिएको छ ,त्यसैले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउँदै मुलुकी अपराध संहिता २०७४ को दफा २ को उपदफा ३ बमोजिम मृतकको श्रीमान्लाई नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन अहिले तयार भएको संघर्ष समितिले माग गर्दै धरान उपमहानगरपालिका त्यस्तै धरानका विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्था र अधिकारकर्मीहरूलाई समेत संघर्ष समितिको तर्फबाट हामीले ज्ञापन पत्र बुझाएकाछौंं ।’ स्वा. सुनिहाङ्माको काका अरुण तिगेलाले भने ।
https://www.youtube.com/watch?v=rbb7KJP1zfo&t=723s