
धरान,
अन्तराष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव ०७७ हुने भएको छ । महोत्सवका मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन मार्फत महोत्सव बारे जानकारी दिएको हो । यहि फागुन २८ र २९ गते दुई दिने अन्तराष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालको विभिन्न जिल्लाका साहित्यकारहरुसँगै भारतको मनिपुर, सिक्किम, सिलगुढी, मिसामारी, मिरिक, सौरेनी, डुवर्स, कालिम्पोङ, खर्साङ, गुवाहाटी, आसाम लगायतका साहित्यकारहरुको सहभागिता हुने आयोजक समितिका संयोजक वम देवानले जानकारी दिए । उनकाअनुसार महोत्सवको पहिलो दिन अतिथीहरुलाई धरानको छाताचौकमा नगर प्रमुखद्धारा स्वागत गरी झाँकी सहितको ¥याली समेत निकालिने छ । धरान १३ नं वडाको आयोजनामा हुन लागेको यो महोत्सव लक्ष्मी चोकस्थित धरान बंैक्वेटमा हुनेछ ।
महोत्सवको उद्धघाटन प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । समापनमा १ नं प्रदेसका कानुन मन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदानबारे कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल तथा भारतका कवि तथा कवयत्रीहरुको कविता वाचन पनि हुनेछ । यसैगरी महोत्सवमा नेपालका दुईजना र भारतका दुईजना स्रष्टाहरुलाई सम्मान समेत गरिने आयोजक १३ नं वडाका अध्यक्ष नेत्र प्रसाद काफ्लेले जानकारी दिए । “भौतिक पूर्वाधारमा मात्रै हैन बौद्धिक विकासमा पनि लगानी गरौं” भन्ने उद्धेश्यले १३ नम्बर वडाले १ लाख ५० हजार बजेट छुट्याएको वडाअध्यक्ष काफ्लेले बताए ।
महोत्सव सम्पन्न गर्न करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ । खर्च विभिन्न सरकारी संघ संस्था र गैरसरकारी संघ संस्थाले आर्थिक सहयोग गर्ने बचन दिएको १३ नम्बरका वडाअध्यक्ष नेत्र काफ्लेको भनाई छ ।