
धरान,
धरानमा रहेको होराइजन क्लबद्धारा राष्ट्रिय स्तरको प्रतियोगितात्मक बास्केटबलको आयोजन गर्ने भएको छ । धरान १७ मा रहेको क्लबले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गराउन लागेको हो । क्लबले यसलाई ‘पाँचौं राष्ट्रिय होराइजन बास्केटबल कप’ भनी नाम दिएको छ । प्रतियोगिता चैत १४ गतेदेखि १७ गतेसम्म संचालन हुने आयोजकले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा देशभरीका ८ टिमको सहभागी रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदेश १ का ५, वाग्मती प्रदेशका २ र लुम्बिनी प्रदेशका १ टिमले प्रतिस्पर्धा गर्दै छ । अध्यक्ष वसन्त राईले भने, ‘प्रदेश १ मा छनौट भएका ५ वटा टिम, काठमाडौंका दुई र रूपन्देही जिल्लाको एउटा टिमले सहभागिता जनाउँदै छ ।’
क्लबले राष्ट्रियस्तरको प्रतियोगितामा एकैपटक ७० हजार रुपैयाँ पुरस्कार राशि वृद्धि गर्दै विजेतालाई एक लाख रुपैयाँसहित ट्रफी प्रदान गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी दिनेछ । यसअघि विजेताले ३० हजार रुपैयाँ पाउँदै आएको थियो ।
धरान–१७ श्रीमाविको बास्केटबल कोर्टमा हुन लागेको प्रतियोगितामा प्रदेश १ बाट छनौट भएका साविक विजेता इमोर्टल क्लब धरान, आयोजक होराइजन क्लब धरान, ब्रदर्श क्लब धरान, युवा जागृति क्लब धरान, र तरहरा बास्केटबल क्लब इटहरी सहभागी हुँदै छन् । त्यस्तै वाग्मती प्रदेशको नेपाल आर्मी र टाइम्स क्लब र लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार र उदयिमान खेलाडीले ५ हजार रुपैयाँ पाउने अध्यक्ष वसन्त राईले बताए । उनका अनुसार खेलकुदसम्बन्धी समाचार लेख्ने एकजना पत्रकार र खेलक्षेत्रमा योगदान दिएका एकजना प्रतिभालाई नगदसहितले सम्मानित गरिने भएको छ । त्यस्तै श्रीमाविलाई दश हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि प्रदान गरिने भएको छ । फाइनल खेल चैत १७ गते हुने आयोजकको भनाई छ ।