
काठमाण्डौं
नेकपा (माओवादी) केन्द्रले सरकारलाई दिइएको समर्थन फिर्ता लिन अन्तिम तयारीमा पुगेको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिन (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको हो । बिहीबार बिहान स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । भोलि बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।
श्रेष्ठले भने ,समर्थन फिर्ता लिने विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठक भोलि बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ । अहिले यत्ति भनौं । फागुन २३ मा सर्वोच्च अदालतले गरेको नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।
मंगलबार नेपाली कांग्रेसका पाटी सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बुझिएको छ । गत शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा पनि अध्यक्ष प्रचण्डले केही दिनभित्रै समर्थनको जनाउ दिएका थिए । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरूङले प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने समय सीमाबारे ध्यानाकर्षण गराएका थिए ।