समाचारस्थानीयहेडलार्इन

धरानमा चौतर्फी आलोचना हुन थालेपछि रातारात खानेपानी चुहावट मर्मत (भिडियो सहित)

धरान,
धरानमा खानेपानीको बारे चौतर्फी आलोचना हुन थालेपछि धरान उपमहानगरपालिकाले रातारात खानेपानीको मुख्य पाईपलाईनमा देखिएका चुहावट मर्मत गरेको छ । चारकोशे जङ्गलबाट धरानमा ल्याइएको खानेपानीको मुख्य पाइपमा चुहावट भएर खानेपानी समस्या देखिएको भन्दै धरान उपमहानगरपालिका खानेपानी व्यवस्थापन बोर्डले गए राति देखि मुख्य पाइप मर्मत शुरु गरेको हो ।

नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएको दुई महिना बित्न लाग्दा झन् खानेपानीमा समस्या देखिन थालेको थियो । साबिक खानेपानी संस्थानको अधिकांश मेशिनरी सामाग्री लगायत पाइपहरु जिर्ण भएकै कारण धरान उपमहानगरपालिकामा खानेपानी वितरणमा समस्या हुँदै आएको बताईएको छ ।

नेपाल खानेपानी संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेको छ । चुहावट कै कारण रिजर्भ ट्याङ्कीमा पानी तान्न समेत समस्या भएको थियो । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि भने यस समस्याको समाधान गर्ने जिम्मा बोर्डको हो । खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक सूचना नै जारी गरेर चारकोशे जङ्गलमा रहेको साबिक संस्थानको मेन ट्रंकलाईन पाइपको बिहीबार रातिदेखि नै मर्मत गर्न थालिएको छ ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राई समेत गए राति मर्मत स्थलको निरीक्षण गर्न पुगेका थिए । मेयर राईले साबिक खानेपानी संस्थानको मेन पाइप लिकेज भइरहेको बताउँदै दैनिक ५ देखि ७ लाख लिटर पानी चुहावट भइरहेको बताए । उक्त मेन पाइपबाट चुहावट भएका कारण पम्पको क्षमतामा पनि समस्या आएको छ । ‘यो मेन ट्रंकलाईन हो, यो मर्मत गर्दा धरान नगरबासीहरुलाई कम्तीमा एक देखि दुई दिन सम्म पानीको आपूर्तिमा समेत केही वडाहरूमा समस्या हुन सक्छ । सूचना जारी गरेर मर्मत सम्भारमा लागेका छौं’ मेयर राईले भने ।

मेयर राईका अनुसार मर्मत कार्य सक्ने बित्तिकै रिजर्भ ट्याङ्कीमा लगेर पुनः नगरबासीहरुलाई आज बेलुका सम्ममा पानी वितरण गर्ने कार्य तालिका बनाइएको छ । मेयर राईले भने, ‘खानेपानी व्यवस्थापन बोर्ड र नगरपालिका पानी व्यवस्थापनमा लागिरहेको छ । केही समय लाग्न सक्छ । नगरबासीहरुलाई धैर्यता गर्न पनि आग्रह गर्दछु ।’ धरान उपमहानगरपालिकाका इन्जिनियर प्रशान्त अधिकारीले साबिक संस्थानको मेन ट्रङ्क लाइन पाइपको चुहावट भइरहेको र यसको मर्मत कार्यमा लागि परेको जानकारी दिए । ‘मेन पाइपमा लिक भएका कारण दैनिक ७ लाख लिटरको हाराहारीमा पानी खेर गइरहेको उनले बताए ।

वितरण प्रणालीलाई सहज होस् भनेर रातको समयमा काम गरेकोे उनको भनाई छ । ‘दिउँसो बजार एरियामा डिस्टर्ब नहोस् भनेर हामीले राति काम गरेका हौँ, पम्पिङमा पनि समस्या भइरहेको छ, मर्मत भइसके पछि पानी वितरण प्रणालीमा सहज हुने अपेक्षा लिएका छौँ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button