
विराटनगर,
१ नम्बर प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका १, १ र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोशी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको बताईएको छ ।
विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केही दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोशी कोभिड अस्पताल लगेका थिए।
त्यस्तै, झापाको अर्जुनधारा –६ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजेतिर विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले सङ्क्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको अनुपमको भनाइ छ । बुधबार साँझबाट सङ्क्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको सुचना अधिकारी राजवंशीले जानकारी दिए ।
त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो बेलुकी मृत्यु भएको छ । सहप्रवक्ता डा.चूडामणि पोखरेलका अनुसार प्रतिष्ठानमा बैशाख १० गते भर्ना गरिएको ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा हिजो बिहान मात्र संक्रमण पुष्टि भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।