
नवलपरासी
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।
सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो ।
गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाइते राजभारलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको लामाले बताए ।
आज विहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपापालिका वडा ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सीमामा खटिएको शसस्त्र प्रहरीले रोकेको थियो । भारत जान नपाएपछि ती दुईजना युवाहरु भनाभन गर्दै फर्कि गाउँबाट ५०÷६० जनालाई जुटाई शसस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरी झडप गरेका थिए ।
स्थानीय र शसस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउन्ड हवाई फायर गरेको थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको सशस्त्र प्रहरी बल नं. २६ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीयको सशस्त्र प्रहरीतर्फ पनि ६ जना घाइते छन् ।
जसमध्ये शसस्त्र प्रहरी नायब निरीक्षक शंकर बुढाथोकीको टाउकामा गम्भीर चोट लागेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सीमा बन्द गरेको छ । तर पनि सीमावर्ति क्षेत्रका केही स्थानीयले आवतजावतको प्रयास गर्दै आएका छन् ।