
धरान,
सस्तो लोकप्रियता कमाउनका लागि सडक मानवलाई खाना खुवाउँदै फोटो खिच्ने कार्य बन्द गरिएको छ । धरानको भानुचोकमा रहेका सडक मानवलाई खाना खुवाउन रोक लगाइएको हो । केही दिन अघि मिडियामा समाचार र भिडियो सार्वजनिक भएपछि अघोसित सामजिक अभिन्याताहरुले धरानमा रहेका केही सडक मानवलाई खुवाउने गरिएको थियो । धरानमा खाना खुवाउँछ भन्दै धरानमा केही दिन यता सडक मानव बढ्न थालेपछि खाना खुवाउने कार्यक्रममा रोक लगाइएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।
‘धरानले खाना खुवाउँछ भन्दै धरान आसपासका नगरपालिका, सुनसरी, मोरङमा रहेका सडक मानव, सडक बालबालिकालाई यहाँ ओसारेको समेत पाइयो’, उनले भने, ‘खासमा भन्ने हो भने धरानमा सडक मानव थिएनन् तर खाना खुवाउने भन्ने जानकारी आउन थालेपछि धरानलगायत अन्य ठाउँमा रहेका सडक मानव पनि यहाँ ओसारिएको समेत पाइयो, त्यसैले यहाँ खाना खुवाउने कार्यक्रम रोकिएको हो ।’
प्रशासनलाई थाहै नदिइकन खाना खुवाउने, सस्तो लोकप्रियताका लागि खाना खुवाउँदै फोटो खिच्ने गरिएको पाइएकोले खाना खुवाउने कार्यक्रम बिहीबारदेखि रोकिएको धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय सुनसरीले नै यस्तो कार्य रोक्नु भनेपछि आफूहरुले पनि रोकेको उनले जानकारी दिए । ‘प्रशासनले नै चासो लिएपछि हामीलाई रोक्न भनेको हुनाले रोकेका हौं, यस विषयमा आज थप छलफल गरेर अघि बढ्नेछौं ।’ उनले भने ।
अघिल्लो वर्ष धरान उपमहानगरपालिकाले धरानको सामुदायिक वन आसपासमा सडक मानवलाई व्यवस्थापन गरेको थियो । त्यहाँ नै उपमहानगरपालिका साथै धराने दाताले खाना खुवाउने गरेका थिए । ‘अघिल्लो वर्षको लकडाउनमा पनि धेरै सडक मानवलाई खाना खुवाउनेलगायत व्यवस्थापनको कार्य पनि उपमहानगरपालिकाले गरेकै हो, त्यही थाहा पाएर धरानले खाना खुवाउँछ भन्दै धेरैजसो धरानमा थुप्रिने गरेको पाइएको छ’, उनले भने, ‘यसपटक को कहाँदेखि आएका हुन्, कस्तो अवस्थाका हुन्, सबैबारे बुझ्ने काम भइरहेको छ, त्यो अनुसार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नेछ ।’
‘आज छलफल चल्ने र उनीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने बारेमा निक्यौंलमा पुगिने छ’ अधिकृत खतिवडाले बताए । ‘मानवीय हिसाबले हेर्दा ठीकै पनि हो, खाना खुवाउने कार्यक्रम नराम्रो होइन तर धरानमा उद्दार भइसकेका पनि पछि थपिएका छन् भन्ने बुझ्नमा आएको छ, यसबारेमा विस्तृत बुझिरहेका छौं ’उनले भने । धरानमा लकडाउन शुरु भएयता सडक बालकसहित ६ जना सडक मानव मात्रै थिए तर धरानमा खाना खुवाइन्छ अथवा खान पाइन्छ भन्दै धेरैजसो सडक मानव थपिँदै गएको अधिकृत खतिवडाको भनाइ छ ।
केही दिन अघि Purwanchal dbr Tv मा पोष्ट भएको भानुचोकको भिडियो