
धरान
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव भएको छ । ‘प्राणवायु’ अक्सिसनको अभाव भएपछि प्रतिष्ठानले कोरोना संक्रमित विरामीहरुको भर्ना बन्द गरेको हो । प्रतिष्ठानको अक्सिजन प्लान्ट विग्रिएपछि प्रतिष्ठानले कोरोना भाइरसबाट संक्रमितलाई शुक्रवारबाट भर्ना लिन छाडेको छ ।
प्रतिष्ठानका १ सय शैयाको कोभिड अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्।् भने बाँकी ३७ शैया खाली भएपनि प्रतिष्ठानका जिम्मेवार अधिकारीहरुले वेड अभाव भएको भन्दै विरामी लिन नमानेको श्रोत बताउँछन् । श्रोतका अनुसार प्रतिष्ठानामा शुक्रवार दिउसो देखि विरामी भर्ना लिइएको छैन । प्रतिष्ठानका पधाधिकारीहरुले अक्सिजन अभाव नहुने दावी गर्दै आएका भएपनि विगत केही दिनयता प्रतिष्ठानमा अक्सिजनको चरम अभाव भएकोले बिरामी राख्न समस्या भएको बताईएको छ ।
स्रोतले भन्यो, ‘प्रतिष्ठानका पदाधिकारीहरु यो कुरा मान्न तयार छैनन्।् प्रतिष्ठानको अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादनमा कमी आएपनि सिलिण्डरबाट अक्सिजन उपलब्ध गराइएको दावी गर्छन्। तर, यथार्थमा भित्रको अवस्था फरक छ । चाहेर पनि विरामी राख्न सकिएको छैन । प्रतिष्ठानमा अक्सिजन उत्पादन लगभग बन्द छ।’
कोभिड संक्रमण भएर प्रतिष्ठानमा सम्पर्क गरेका एक विरामीका आफन्तले अक्सिजन छैन भन्दै भर्ना लिन नमानेको संक्रमितका आफन्त बताउँछन्। तर, प्रतिष्ठानमा अक्सिजन अभावको विषय उपकुलपति डा. ज्ञानेन्द्र गिरी र हस्पिटल डाइरेक्टर प्रा.डा. गौरिशंकर शाहले गुपचुप राख्न दवाब दिएको श्रोतको दावी छ । नाम उल्लेख नगर्ने शर्तमा श्रोतले भन्यो, ‘हामीलाई प्रतिष्ठानका कुनैपनि विषय मिडियामा नबोल्नु भन्ने निर्देशन छ । नाम मात्र बाहिर आए विभागीय कारवाहीको धम्की दिइएको छ । अक्सिजन प्लान्टले काम गरेको छैन, सिलिण्डरको अक्सिजन पनि पर्याप्त छैन ।’
प्रतिष्ठानमा पछिल्लो ३ दिनयता कोरोना संक्रमितको मृत्युदर बढ्नुमा पनि अक्सिजन अभाव रहेको बताईएको छ । प्रतिष्ठानामा गत बुधबार मात्रै एकै रात सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
उच्च पदाधिकारीहरुको गैरजिम्मेवारीपनले अक्सिजनको अभाव, स्वास्थ्य सेवा खस्कियो ः गोले
बीपी प्रतिष्ठानमा अक्सिजनको अभाव भएको भन्दै प्रतिष्ठानक कर्मचारी संगठनका पुर्व अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ्गले अक्सिजनको अभाव हुनु र स्वास्थ्य सेवा खस्किदै जानुले उच्च पदाधिकारीहरुको उदासिनता, लापारवाहीपन एवम् गैरजिम्मेवारीपन र असक्षमता सावित भएको जिकिर गरेका छन्।् ।
सामाजिक सञ्जालमा गोलेले लेखेका छन्, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजनको अभाव हुनु र स्वास्थ्य सेवा खस्किदै जानुले उच्च पदाधिकारीहरुको उदासिनता, लापारवाहीपन एवम् गैरजिम्मेवारीपन र असक्षमता सावित भएको छ।’ । प्रतिष्ठानाका उच्च पदाधिकारीहरु जनताको गुणस्तरीय सेवा र प्रतिष्ठानको दिगो बिकाशका लागि नभई आफ्नो आर्थिक बिकाशमा मात्र केद्रित भएको आरोप लगएका छन्।
उनले लेखेका छन्, ‘यिनिहरु प्रतिष्ठानको दिगो विकास र गुणस्तरीय सेवा विस्तारका लागि नभई आफ्नो आर्थिक स्तर वृद्वि गर्न मात्र आएको देखियो। अब अति भयो, धरानको गौरवको रुपमा रहेको प्रतिष्ठान बचाउन धराने जनता जाग्नु पर्ने समय आयो।’