
धरान koshipost.com
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यका लागि धरानका राजनीतिक दल र नागरिक समाजबिच छलफल भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति, विसङ्गति, बेथिति र भ्रष्टाचार बढेको भन्दै धरानबासी राजनीतिक दल र नागरिक समाजबिच छलफल भएको हो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बसेको राजनीतिक दल, नागरिक समाजको बृहत छलफलले प्रतिष्ठान सुधार्नका लागि नागरिक समाजसहितको दबाव सिर्जना गरी प्रतिष्ठान सुधार्न लागिपर्ने जनाइएका छन् । गएको साता धरानका राजनीतिक दलहरुले अक्सिजन प्लान्ट तत्काल मर्मत गर्नुपर्नेलगायत मागहरु राखेर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यालयअघि धर्नासमेत दिएका थिए ।
बुधबार नागरिक समाजका अगुवा, पत्रकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी, लिम्बुवान, जनमुक्ति पार्टी, राप्रपालगायत अन्य साना दलहरुबीचको छलफलले बीपी सुधार्न जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने सहभागीहरुले बताएका छन् । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता फोकाहाङ सुब्बा (चोत्लुङ)का अनुसार छलफल वीपी प्रतिष्ठानलाई कसरी सुधार गर्न सकिन्छ भन्ने एजेण्डामा केन्द्रीत रहेको थियो । छलफलले केही दिनभित्रै स्थानीय सरकार प्रमुख, र उपप्रमुखसमेतको सहभागीतामा त्रिपक्षीय भेला गर्ने र ठोस निर्णय गरेर अघि बढ्ने समझदारी गरेको नेता सुब्बाले बताए । ‘आज नगारिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको हो,’उनले भने,‘धरान सरकारका प्रमुख र उपप्रमुख दुवै जना वीपीको सिनेट सदस्य पनि छन्, त्यसैले उहाँहरुसहित केही दिन भित्रै त्रिपक्षीय भेला गर्ने समझदारी भएको छ ।’
केही दिनपछि बस्ने भनिएको बैठकमा अवधारणा पत्र नागरिक सञ्जालले तयार गर्ने निर्णय भएको छ । उक्त बैठकले त्रिपक्षीय भेला नभएसम्मको लागि नागरिक सञ्जालका तर्फबाट डा.राजेन्द्र शर्माले समन्वय गर्ने र अवधारणा पत्र पनि नागरिक सञ्जालले तयार गर्ने निर्णय गरेको छ । नागरिक सञ्जालमा मनोजकुमार मेन्याङ्बो, हरिप्रसाद दाहाल, गौरीशंकर अग्रवाल, हर्ष सुब्बा, भवानी वराल र महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङ रहने बैठकले निर्णय गरेको छ । प्रतिष्ठानमा अहिले कोभिड अस्पताल, इमरजेन्सी, आइसियु, अक्सिजन लगायतका सेवामा लापरवाही भएकोे समाचार बाहिरिरहेका छन् ।