समाचारसमाजहेडलार्इन

गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, परिवारका सबै घाइते

महोत्तरी koshipost.com

गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट भएको छ । महोत्तरीमा लुटेराहरूको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हो ।

लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साह सहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् । गोली लागेर पसल संचालक ५० वर्षीय वीरेन्द्र साह घाइते भएका छन् । उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीया सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाएको छ । लुटेराहरूले रड प्रहारबाट घाइते भएकाहरुको टाउको, मुख र शरीरको विभिन्न भागमा चोटपटक र गहिरो घाउ लागेको छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको बताईएको छ ।

सम्सी गाउँपालिका १ स्थित पर्सा बजार देखि २ सय मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै पसल संचालन गदै आएका थिए । मध्यरातमा लुटेराहरूले गोली प्रहारसँगै लुटपाट गरेका हुन् । लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लुटेराहरूले कटुवा पेस्तोल, फलामको रड प्रयोग गरी संचालक वीरेन्द्र साहसहित घरमा रहेका उनको श्रीमती, छोरा र छोरी माथि आक्रमण गरी घर भित्र रहेको नगद र गरगहना लुटेर फरार भएको महोत्तरीका प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार लुटेराहरूले १ सय ७२ तोला (काँचो) चाँदी करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको र ५ तोला (काँचो) सुन करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको लुटेको छ । ययस्तै, २ लाख रुपैयाँ नगद समेत लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ । संचालक साह सहित परिवार घाइते अवस्थामा रहेकाले लुटपाटको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

महोत्तरीमा लुटेराहरूको समुहले यो दोश्रो पटक आक्रमण सहित लुटपाट गरेको हो । गत सातामात्रै महोत्तरीको लोहरपट्टी नगरपालिका स्थित बजार क्षेत्रमै एकको घरमा लुटपाट गरी घरधनीमाथि गोली हानी गम्भिर घाइते बनाएको थियो । घाइते संचालक साहको वीपी प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने परिवारका अन्य ४ जना घाइते सदस्यको उपचार जनकपुरधाममा भईरहेको महोत्तरीका प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button