
विराटनगर, koshipost.com
पत्रकार तथा वनका कर्मचारी बनेर ठगी गर्ने २ जना नगद सहित पक्राउ परेका छन् । मोरङको रतुवामाई नगरपालिका १० स्थितबाट ‘वनका कर्मचारी तथा पत्रकार हौं’ भनी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटविकास का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैंचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् ।
गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्णबहादुर श्रेष्ठको माइवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट नगद रु ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको संवाददाता परिचय पत्र थान–१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ बरामद भएको छ ।
बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखि ११ हजार ५ सयसम्म उठाएको उल्लेख गरिएको छ । उनीहरुले हामी वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईहरूलाई काम गर्न अप्ठयारो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ ।
पक्राउ परेकाद्वय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।