समाचारसमाजस्थानीयहेडलार्इन

पसलको सामान चोरीको आरोपमा श्रीमान् श्रीमती पक्राउ

धरान, koshipost.com

सुनसरी धरानमा पसलको सामान चोरी आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् । नारायणचोकमा एक पसलमा चोरी भएको उजुरी परेपछि श्रीमान(श्रीमती पक्राउ परेको हो । किराना पसल गर्दै आएका सन्तोष लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि उनीहरु पक्राउ हुन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–१ घर भई धरान बस्दै आएका वर्ष २५ को पंकज भट्टराई उनकी श्रीमती कैलाली माइती घर बताउने वर्ष २६ को पिन्जु भट्टराई रहेका छन् । उनीहरु सोही पसलकै माथिल्लो तलामा भाडामा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।


दुई तीन महिनाअघि सामान हराउँदै गएपछि सन्तोषलाई शंका लागेको बताउँछन् । ‘चोरी त दुई तीन महिनादेखि नै भएको रहेछ’, उनले भने, ‘तर पसलमा झारिएको नयाँ सामान मिलाउन नभ्याइ हरायो, हराएपछि थप शंका लाग्दै गयो, त्यसपछि मेरो पसलमा चोरी हुन थाल्यो भनेर प्रहरीमा उजुरी दिएँ ।’ त्यतिबेला उनको पसलमा भर्खरै झारिएको खुकुरी तेल, मह, दूध पाउडर, हर्लिक्सलगायतका सामग्री एक्कासी हराएको थियो । ‘पहिला पनि सामान कम हुँदै गएको महसुस त भएकै थियो’, उनले भने, ‘ती सामान हराएपछिचाहिँ पक्कै चोरी भएकै हो भन्ने भयो ।’


व्यवसायी लिम्बूका अनुसार अगाडिको सटर जस्ताको त्यस्तै हुन्थ्यो । ‘अगाडिको सटर जस्ताको त्यस्तै रहन्थ्यो’, उनी भन्छन्, ‘त्यसपछि शंका गर्ने ठाउँ पनि रहेन, तर जब भर्खरै ल्याइएका सामान हराए, शंका लाग्दै गयो ।’ उनीहरु पसल भएकै घरमा डेरा गरेर बस्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले चोर्नका लागि प्यासेजको ढोका प्रयोग गर्ने गरेको खुलेको छ । प्यासेजको ढोका लगाइएको चाबीको नक्कली चाबी प्रयोग गरेर चोरी भएको व्यवसायी लिम्बू बताउँछन् । ‘यस्तो चलाख चोर रहेछन् कि जसले थोरै थोरै सामान मात्रै चोर्थे, चाल पाउनै सकिँदैन थियो,’ सन्तोष भन्छन्, ‘तर पछि प्रहरीले अनुसन्धान गर्दै गएपछि आफैं पत्ता लगाएर उनीहरुलाई पक्राउ गरेको हो ।’


आफूले पसलमा २५ लाख रुपैयाँ लगानी गरेको र हिसाब गर्दा ५ लाख रुपैयाँ बराबरको सामान हराएको व्यवसायी लिम्बू बताउँछन् । ‘पटक–पटक गरेर हिसाब गरेर हेर्दा ५ लाख रुपैयाँ बराबरको चोरी भएको पाइयो’, व्यवसायी लिम्बू भन्छन्, ‘प्रहरीलाई कागजात उपलब्ध गराउँदै आएका छौं ।’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले चोरीमा संलग्नलाई पक्राउ गरिसकेको जानकारी दिए । ‘भित्रको प्यासेजमा लगाइएको ताला नक्कली चाबी प्रयोग गरेर खोल्दै चोरी गरेको पाइयो’, उनले भने, ‘पक्राउ गरेर अनुसन्धान थालिसकेका छौं ।’
उनले पक्राउ परेका भट्टराईको डेराबाट किराना पसलका सामान बरामद, एउटा चाबी बरामद गरिएको जानकारी दिए । ‘व्यवसायी लिम्बूले ५ लाख बराबरको सामान हराएको भन्ने उजुरीमै खुलाउनुभएको छ’, प्रहरी निरीक्षक ओलीले भने, ‘बिल भर्पाइ कलेक्सन गर्ने, के कति सामान हराए हो, त्यसको विवरण सङ्कलन गर्नेलगायतका काम अघि बढ्दै गएको छ ।’


शुरुमा प्रहरीलाई पनि पत्यार लागेको भने थिएन । ‘घटनास्थलबारे अवलोकन गर्न पुग्दा प्यासेजबाटै चोरी भएको शंका लाग्यो’, प्रहरी निरीक्षक ओली भन्छन्, ‘हामीलाई नजिककै मानिस वा छरछिमेकबाट चोरी भएको हो भन्ने नै लागिरहेको थियो, त्यसपछि किराना सामान डेराबाटै बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर ल्याएका हौं ।’ व्यवसायी लिम्बूले गत असार १२ गते प्रहरीमा बिना किटानी जाहेरीको उजुरी दर्ता गरेका थिए । उनीहरु गत असार १३ गते पक्राउ परेको प्रहरीले जनाएको छ ।


त्यस्तै,धरानका युवासहित इटहरीका युवा चोरीको आरोपमा पक्राउ


इटहरी उपमहानगरपालिका एरियाका २ छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् ।


तामाङ ईटहरी–३ का अनन्तप्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । जेठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ ।

यसैगरी इटहरी–६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्याँस सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा–३ बाट चोरी भएको नाइट्रोजन ग्यास सिलिण्डरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button