समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप धरानमा आज र भोली दुई दिन यी स्थानमा लगाईदै

धरान,koshipost.com


कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको खोप धरानमा आज र भोली लगाईने भएको छ । सोमबार (हिजो) धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरोसेलको दोस्रो मात्राको खोप लगाउने जानकारी गराएको हो । स्वास्थ्य महाशाखाले जानकारी दिए अनुसार धरानको ३ स्थानमा खोप केन्द्र तोकिएको छ । धरानको छाताचोकस्थित स्वास्थ्य चौकी, धरान –१५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान–१८ स्थित कार्मेल हाइस्कुलमा खोप केन्द्र रहेकाछन् ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । प्रमुख मेहताले गत जेठ २५, २६ र २७ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्राको खोप दिइने जानकारी दिए । गत जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेलको पहिलो मात्रा लगाइएको थियो ।

यस्तै, अन्य लक्षित समूहलाई पनि दिइएको थियो । यसपटक भने ज्येष्ठ नागरिकहरुलाई सहज बनाउनका लागि अलग्गै लाइनको व्यवस्था गरिने उनले बताए । ज्येष्ठ नागरिक २ जना बराबर मात्र अर्को लक्षित समूहका १ जनालाई खोप लगाउने व्यवस्था हुनेछ । गत जेठमा खोप अभियानको क्रममा २ हजार १ सय ४४ जनाले भेरोसेल खोपको मात्रा लगाएका थिए । त्यसबाहेक थप २ सय जनालाई पनि भेरोसेल खोप दिइएको थियो भने उनीहरुलाई दोश्रो मात्राको भेरोसेल खोप पछि लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।


२२ र २३ गते दुईदिन लगाइने खोप अभियानमा २ हजार १ सय ४४ जनालाई मात्र दोश्रो मात्राको भेरोसेल खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिएका छन् । भेरोसेल खोपको पहिलो मात्रा कुन स्थानमा गएर लगाएका थिए । उनीहरुले यसपटक जाँदा अनिवार्य खोप कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउनुपर्ने स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई पनि सरकारले चाँडै दोस्रो खोपको व्यवस्था गर्ने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा यसअघि १३ हजार २ सय ३१ जनाले भेरोसेलको पहिलो मात्राको खोप लगाएका थिए । असार २२ र २३ गते तीमध्ये ५ हजार ७ सय २० जनालाई दोस्रो मात्रा लगाइने छ भने बाँकी रहेकालाई अर्को चरणमा खोप लगाइने जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button