राजनीतिसमाचारहेडलार्इन

काँग्रेस महाधिवेशन र नेतृत्व पुस्तान्तरणको प्रश्न


मणिकुमार श्रेष्ठ ,koshipost.com

नेपाली राजनीतिको सबैभन्दा पुरानो र समाजवादी राजनीतिको परिपक्व दल नेपाली काँग्रेसको अहिले चौधौं महाधिवेशन हुने चर्चा चलिरहेको छ । परिपक्व विचार र स्पष्ट नेतृत्वको अभावमा नेपाली काँग्रेसले विभिन्न समयमा पार्टीभित्र र पार्टी बाहिरबाट आलोचना खेपिरहेको छ । नेपालको इतिहासमा सबैभन्दा पुरानो राजनीतिक दलको रापमा स्थापित पार्टी र नेपालको हरेक प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको पार्टीको चौधौं महाधिवेशनको सरगर्मी चलिरहँदा अहिले काँग्रेसभित्रको विभिन्न खेमाको रस्साकस्सीसमेत सलबलाएको छ ।

काँग्रेसको नेतृत्वमा भएका विभिन्न प्रकारका आन्दोलन तथा विगतदेखि अहिलेसम्मको इतिहास हेर्दा जनताको जित भए पनि नेपाली काँग्रेसको हार भएको छ । काँग्रेसमा आउने नेतृत्वको कारणले गर्दा विभिन्न समयमा भएको निर्वाचनमा काँग्रेसले पराजय भोग्नुपरेको छ । यसको कारण भनेको नै नेतृत्व दूरदर्शी र पारदर्शी हुन नसक्नु हो । नेपाली भूमिमा नेपाली जनताको जनजीविकाको मुद्दासँग जोडिएर नेपाली काँग्रेसले आफ्नो राजनीतिक यात्रा सुरु गरेको आज ७ दशक वितिसकेको छ । अनि नेपाली काँग्रेसका संस्थापकहरूको योगदानलाई उच्च मूल्याङ्कन गरी हामीले काँग्रेसको राजनीतिक दृष्टिकोण र परिवर्तनशील नेतृत्वहरूको स्थापना गर्न सक्नुपर्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वका २००६ साल चैत २७ गते स्थापना भएको नेपाली काँग्रेसले नेपालको राजनीतिक आन्दोलनको महत्त्वपूर्ण समयको नेतृत्व गरेको प्रमाण हामीसामु छर्लङ्ग भएका छन् । हामीले हेर्ने हो भने नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुने अवसर पाएको विश्वेश्वरप्रसाद कोइराला वास्तवमा भन्ने हो उहाँले एक युवा अवस्थामा नै नेपाल सरकारको नेतृत्व गर्नुभएको थियो । त्यसैगरी काँग्रेसको नेतृत्वमा भएको सरकारका युवा नेतृत्वको सहभागिता उल्लेख्य रूपमा भएको छ । यसरी नेपाली काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा उहाँ ५० वर्षभन्दा कम उमेरको हुनुहुन्थ्यो । अहिले देउवा नै देशको प्रधानमन्त्री हुनुहुन्छ अनि उहाँ नै नेपाली काँग्रेसको सभापति हुनुहुन्छ भने हाल देउवा ७५ वर्ष पुग्नुभयो । प्रधानमन्त्री देउवाले नै युवा अवस्थामा देशको नेतृत्व गर्नुभएको थियो भने अहिले नेपाली काँग्रेसको चौधौं महाधिवेशन गर्नुपर्ने दायित्व पनि उहाँको काँधमा छ ।


यसरी नेपाली काँग्रेसमा अहिलेको मुख्य नेतृत्वको कुरा गर्ने हो भने वर्तमान सभापति शेरबहादुर देउवा ७५ वर्ष पुग्नुभयो । यसैगरी विमलेन्द्र निधि ६४ वर्ष, प्रकाशमान श्रेष्ठ ६५ वर्ष, रामचन्द्र पौडेल ७६, विजयकुमार गच्छदार ६७, शशांक कोइराला ६२, सुनिलबहादुर थापा ६२, सुजता कोइराला ६७, कृष्णप्रसाद सिटौला ७२, रामशरण महत ७०, प्रकाश शरण महत ६२, मीनेन्द्र रिजाल ६३, अर्जुन नरसिंह केसी ७३, नारायण खड्का ७२, ज्ञानेन्द्र बहादुर कार्की ६३, आनन्दप्रसाद ढुङ्गनाा ७१, कुलबहादुर गुरुङ ८र्५, सीतादेवी यादव ६६, चित्रलेखा यादव ५६ वर्ष पुग्नुभएको छ । अहिले पार्टीको नेतृत्व उहाँहरूको वरिपरि घुमिरहेको छ । भने टड्कारो रूपमा युवापुस्तामा नेतृत्व हस्तान्तरणको सवाल पनि उठिरहेको छ । यसैगरी नेतृत्व हस्तान्तरणको मुद्दाको नेतृत्व गरिहेका काँग्रेस नेता गगनकुमार थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्माको पुस्ता ५० वर्षको हाराहारीमा रहेका छन् । गगन थापाको पुस्ता अहिले तेस्रो पुस्ताका नेताका रूपमा चिनिन्छन् । यसरी पहिलो र दोस्रो पुस्ताका नेताहरूले तेस्रो पुस्ताका नेताहरूलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गरिहाल्छन् भन्ने देखिँदैन ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन २०७८ भदौ १६ गतेदेखि हुने कार्यतालिका सार्वजनिक भएको भए पनि त्यसलाई अहिले स्थगन जस्तै गरिएको छ । जे होस्, नेपाली काँग्रेसमा महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यता छ । यसरी महाधिवेशन गर्दा काँग्रेसले देश सङ्घीयतामा गएपछि गर्न लागिएको महाधिवेशन भएको हुनाले स्थानीय तहदेखि नै अधिवेशनको सुरुवात गरी परिपक्व नेतृत्व र स्पष्ट विचारलाई स्थापित गर्नुपर्ने देखिन्छ । यसरी काँग्रेसको चौधौँ महाधिवेशनको सरगर्मी चलिरहँदा अहिले स्थानीय तहदेखि नै नेतत्वमा पुस्तान्तरण कुरा टड्करो रूपमा चलिरहेको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन गर्नुभन्दा पहिले वडा अधिवेशन, स्थानीय तहको अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन गर्नुपर्ने हुन्छ ।

महाधिवेशन जतिजति नजिकिँदै जान्छ, युवाहरूको भूमिकाको कुरा उठ्ने गर्छ । तर युवाहरूले नेतृत्वको कुरा गरिरहँदा पुराना पुस्ताका पाका नेताको वचनलाई तोड्न भने नसकेको देखिन्छ । विश्वका कम्युनिस्ट राजनीतिज्ञ दार्शनिक कार्ल माक्र्सले युवाका बारेमा दिएको परिभाषाअनुसार ‘युवा भनेको त्यो हो जसलाई उमेरले छेक्दैन त उसको विचार जुझारु र युवामैत्री हुनुपर्दछ ।’ यसैगरी समाजवादी दार्शनिक तथा नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको अनुसार ‘युवा भनेको उमेरभन्दा पनि शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा स्फुर्त र सामाजिक रूपमा स्वास्थ्य, वैचारिक रूपमा स्पष्ट भएका व्यक्तिलाई जनाउँछ ।’ यसरी हामीले दार्शनिकहरूका कुरालाई अनुसरण गर्ने हो भने पनि युवा भनेको यस्तो व्यक्ति हो जसले देशको लागि गर्नुपर्ने हरेक कामको र हरेक परिस्थितिको नेतृत्व लिन सक्छ ।

नेपाली काँग्रेसको विगतको नेतृत्वको कुरा गर्दा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, टङ्कप्रसाद आचार्य, डा। डिल्लीरमण रेग्मी, सुशील कोइरालासम्मको नेतृत्वको समीक्षा गर्दा काँग्रेस सभापति सुशील कोइरालाको पालामा नेतृत्व अलिक मात्रामा असफल भएको नै हो । यसरी उहाँको नेतृत्व कालमा काँग्रेसले सत्ता सञ्चालन गर्ने मौका पाएको भए पनि उहाँको कार्यकाल खासै सफल हुन सकेन । त्यसको परिणाम स्वरूप अहिले शेरबहादुर देउवाको नेतृत्वको काँग्रेसले समेत भोग्नुपरिरहेको छ । नेतृत्व भएको यस्तो विषय हो, जसका लागि कुनै पनि विषयमा स्पष्ट र जुझारु नेतृत्वका लागि कुनै पनि सम्झौता गर्नु हुँदैन ।

यसरी सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा कस्तो ढङ्गले अगाडि बढ्छ र को–को नेतृत्वमा पुग्छन् भन्ने विषय सबैको चासोको विषय भएको छ । काँग्रेस नेपालको पहिलो लोकतान्त्रिक तथा प्रजातान्त्रिक राजनीतिक दल हो । आजको युगमा विश्व दुई ध्रुवमा विभाजन भएको बेला नेपाली काँग्रेसको महाधिवेशन हुन लागेको छ । नेपाली काँग्रेस स्वभावैले समाजवादी पार्टी हो । यसले नेपालको सिङ्गो विकास र प्रगतिको पक्षमा लाग्ने जुझारु प्रतिभाशाली अडान युक्त नेताको छनोट गर्न सक्नु पर्छ । यदि सो विषयमा नेपाली काँग्रेस चुकेको खण्डमा काँग्रेसले अहिलेसम्म बनाएको इतिहासले धिक्कार्नेछन् ।


जहानियाँ राणाशासन, पञ्चायती व्यवस्थालाई फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको काँग्रेसले आफ्नो पार्टीभित्र रहेको तानाशाही प्रविधिको अन्त्य गरी सहभागितामूलक लोकतन्त्र र समाजवादी विचारलाई अनुसरण गर्दै देशको विकासका लागि नेतृत्वदायी तवरले लागिपर्ने नेतृत्व स्थापित गर्न सक्नुपर्छ । यदि नेपाली काँग्रेसले अहिलेको चौधौं महाधिवेशनलाई क्रम भङ्गपछिको निरन्तरताको पक्षमा लागी स्पष्ट विचार र सही नेतृत्व स्थापित गर्नका लागि काँग्रेसको तल्लो तहका अधिवेशनदेखि नै लाग्नुपर्ने आजको आवश्यकता भएको छ । जनताका सानो भन्दा सानो विषयमा समेत काँग्रेसले स्पष्ट विचार र न्यायोचित रूपान्तरण गर्नु आजको मूल दायित्व हो । त्यसैले २००३ सालबाट प्रथम महाधिवेशनबाट सुरु भएको नेपाली काँग्रेसको अहिलेको चौधौं महाधिवेशन भनेको एउटा प्रक्रिया मात्र नभएर सिङ्गो रूपान्तरणको कसी बन्नुपर्छ । हामीले इतिहासलाई भुल्नु हुँदैन नेपाली काँग्रेसको पहिलो महाधिवेशनमा जननेता विश्वेश्वरप्रसाद कोइराला ३३ वर्षको उमेरमा नै पार्टीको कार्यकारी सभापति भएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button