
विराटनगरkoshipost.com
पारिवारिक घर झगडा मिलाउन जादा धनराजको ज्यान गएको छ । मोरङ जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका वार्ड नं. –६ भण्डारी टोलमा पारिवारिक वादविवाद मिलाउन जादा सोही वडामा बस्ने ४५ वर्षीय धनराज लिम्बुको ज्यान गएको हो । श्रीमान् श्रीमतीको झगडा मिलाउन जादा उल्टै लाठीले कुटपिट गर्दा लिम्बुको ज्यान गएको स्थानीय प्रत्यक्षदर्शी तेज बहादुरले बताए ।
घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घट्नामा संलग्न ४ जनालाई उर्लाबारीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाईएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ्ग गाउँपालिका वाड नं. ६ भण्डारी टोल बस्ने वर्ष ३३ को रविन तामाङ,सोही टोलका वर्ष २५ को संजय तामाङ,वर्ष ३० को आईतराज तामाङ र वर्ष ४० को भाग्य बम्जन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ ३ गते राती मोरङको मिक्लाजुङ गाउँपालिका ६ को भण्डारी टोलमा ३३ बर्षीय रविन तामाङ र उनको श्रीमती बिच पारिवारिक विवाद भएको थियो । उक्त विवाद मिलाउन गएका ४५ वर्षीय धनराज लिम्बु र ५५ वर्षीय दुर्गाबहादुर कार्की माथि कुटपिट भएको थियो । उनीहरुलई लाठीले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
दुवैको तत्काल स्थानीय अस्पतालमा उपचार गरिएको थियो भने धनराजलाई थप उपचारको लागि विराटनगर २ स्थित विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा घाइते धनराजको शनिबार राती ११ बजेर ४५ मिनेटमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । अर्का घाइते दुर्गाबहादुर स्थानीय अस्पतालमा उपचार पश्चात घर फर्की सकेका छन् ।