
धरान,koshipost.com
१४ औं महाधिवेशनबाट निर्बाचित भएका कांग्रेसको धरान नगर समितिका पदाधिकारी तथा सदस्यरुलाई प्रमाणपत्र वितगरण गरिएको छ । धरानका नगर अधिवेशनबाट निर्वाचित भएका नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । बुधबार (आज) धरान(१२ स्थित गीता भवनमा कांग्रेस धरानका निवर्तमान सभापति एवं मेयर तिलक राईको सभाध्यक्षमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन समितिद्वारा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कांग्रेस धरानको नगर अधिवेशन असोज ९ गते सम्पन्न भएको थियो । उक्त अधिवेसनबाट नगर सभापति श्याम पोखरेलकोे नेतृत्वमा पदाधिकारी सहित १ सय १ जना सदस्यहरु निर्वाचित भएर आएका छन् । नगर सभापतिका प्रत्यासी किशोर राईले नवनिर्वाचित सभापति पोखरेलकोे नेतृत्वलाई शुभकामना दिँदै यो अधिवेशन गैर पार्टीसँगको नभई कांग्रेसको आन्तरिक प्रतिष्पर्धा भएको बताए । उनले कांग्रेसको कार्यकर्ताहरुलाई भोलीकोे दिनमा अन्य गैर कांग्रेससँग लड्न सक्ने, भिड्न सक्ने र आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्न सक्ने बनाउन अबको कार्यसमितिले गर्नुपर्नेमा जोड दिए ।
नव निर्वाचित नगर सभापति श्याम पोखरेलले आफ्नो समूहले पार्टीको शिर उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । नगर सभापति पोखरेलले नेपाली कांग्रेस नगर समिति तिहारपछि लगत्तै आफ्नो संगठन विस्तार गर्न टोलटोलमा प्रवेश गर्ने कार्यक्रममार्फत् घोषणा गरे ।
‘नगर समिति पार्टी अफिसमा मात्र बस्दैन, अब २० वटै वडामा छरिएर जान्छ, तिहारपछि कांग्रेसको नगर समिति गाउँगाउँमा प्रवेश गर्छ, टोलटोलमा जान्छ र टोल, गाउँमा पुगेर समिति गठन गर्छ’, नगर सभापति पोख्रेलले भने । नगर सभापति पोख्रेलले सबैसँग समन्वय गरेर मात्र पार्टी सञ्चालन गर्ने बताए । नगर समितिको कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निवर्तमान नगर सहसचिव पञ्चकला राईलाई मनोनित गरिएको सभापति पोख्रेलले घोषणा गरे ।

