
संखुवा सभा,koshipost.com
संखुवा सभा हत्या प्रकरण्मा पक्राउ परेका ५ जनालाई जिल्ला अदालत चैनपुरले थुनामा राख्न आदेश दिएको छ । संखुवासभाको मादी नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न ५जना अभियुक्तहरुलाई थुनामा राख्न जिल्ला अदालत चैनपुरले आदेश दिएको हो । अदालतले हत्यामा संलग्न अभियुक्तहरु खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशमा सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र अभियुक्त लोकबहादुरका १७ वर्षीय भाइ नरेश कार्की बालक भएको ठहर गर्दै उनलाई बाल सुधार गृह विराटनगर पठाउन भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले ५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । गत शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा बुझाएको र सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत संखुवासभामा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध कर्तव्य ज्यान र चोरी मुद्दा लगाइएको थियो । तत्काल प्राप्त प्रमाणबाट उनीहरु कसूरदार देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको (डीएसपी) सुवेदीले जानकारी दिए ।
गएको भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो । उनीहरू एउटै परिवारका हुन् । पछिल्लो समय प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका ५ जना पनि हत्या भएका परिवारकै सगोलभित्रका हुन् । हत्या भएको पाँच दिनपछि २७ गते मुख्य अभियुक्त भनेर प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । त्यसको केही दिनपछि थप चारजना अभियुक्तलाई पक्राउ गरेको थियो ।
घटना घटेको केही समयपछि लोकबहादुर कार्की पक्राउ परेका थिए । सुरुमा घटनाका योजनाकार उनी आफैं रहेको प्रहरीको निष्कर्ष थियो । तर, पछि मृतक रञ्जना कार्कीको हराएको मोबाइल फोनले बाँकी अभियुक्तहरु पक्रन प्रहरी सफल भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादीको घरबाट भेटेको मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएको छुरी, घाउचोट, पाँचजनाको मिल्दोजुल्दो साविति बयानलाई नै मुख्य प्रमाणको रूपमा पेस गरेको थियो ।
हत्या भएकी ३२ वर्षीय रञ्जना कार्कीले २ वटा मोबाइल चलाउँथिन् । जसमध्ये एउटा मोबाइल घटनास्थलमा भेटिए पनि अर्को मोबाईल भने उक्त स्थानमा भेटिएको थिएन । रञ्जनाले प्रयोग गर्ने दोस्रो मोबाईल कहाँ छ भनेर प्रहरीले खोजी गरेको थियो । त्यो मोबाइल लोकबहादुरलाई सार्वजनिक गरेको केही दिनपछि उनकै भाइले प्रयोग गरिरहेको पहिचान भयो । त्यसैले उनी विरुद्ध चोरी मुद्दा समेत लगाइएको हो ।
