किरात राई फन्सिकिमको २७ औं जन्म दिवस तथा दुमी वंश भेला धरानमा सम्पन्न

धरान,koshipost.com
सुनसरीको धरानमा किरात राई फन्सिकिमको २७ औं जन्म दिवस तथा दुमी वंश भेला सम्पन्न भएको छ । दुमी किरात राई फन्सिकिमको २७ औं जन्म दिवस तथा दुमी वंश भेला धरानमा सम्पन्न भएको हो । मङ्गलबार (आज) धरान (१५ स्थित दुमी किरात राई फन्सिकिमको दुमकिम भवनमा २७ औं जन्म दिवस तथा दुमी वंश भेला सम्पन्न भएको छ ।
दुमी किरात राई फन्सिकिमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि राईले दुमी किरात राईहरुको संस्थाको २७ औं स्थापना दिवस यसवर्ष धरानमा मनाइएको बताए । उनले ७ सामेई, २१ पाछाका दुमीहरुको वंश भेला कार्यक्रम आयोजना गरिएको जानकारी दिए । दुमी वंशको पहिचान र चिनजानको लागि प्रदेश १ को १४ वटा जिल्लामा रहेका दुमी राईहरु २७ औं स्थापना दिवस तथा वशं भेलामा आएको उनले बताए । भेलामा दुमी राईहरुको बारेमा प्रकाशन गरिएको पुस्तक समेत सार्वजनिक गरिएको थियो । दुमी राईहरुमा इसिलिमको लोगो भएको पुरुषले लगाउने टोपी (ताकी) र महिलाले लगाउने मजेत्रो (छाकानाम)को पनि प्रचारप्रसार गरिएको थियो ।
दुमी किरात राई फन्सिकिम सुनसरीकी अध्यक्ष कृपा दुमी राईले आफ्नो भाषा, संस्कार, संस्कृति लोप भइरहेको अवस्थामा यसको उत्थानको लागि दुमी राईहरुले हरेक वर्ष फरक फरक स्थानमा स्थापना दिवस र वंश भेला आयोजना गर्दै आइरहेको जानकारी दिइन् । उनले आजको भेलामा आउँदै गरेको १२ औं राष्ट्रिय जनगणनाको बारेमा जनचेतनामूलक कार्यक्रम समेत गरिएको बताईन्
भेलामा काठमाडौंसहित खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, पाँचथर, ईलाम लगायत जिल्लामा बसोबास गर्ने दुमी राईहरुको उपस्थिति रहेको थियो ।

