
धरान,koshipost.com
सुनसरीको धरानमा प्रदेश १ स्तरीय गायन प्रतियोगिता (एसइई आइडल सिजन २० र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १० हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमको जानकारी गराएको हो ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । यस कार्यक्रम २०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ आयोजना गरिएको थियो । यसैलाई परिमाजित गरेर यस वर्षदेखि डान्सिङ स्टार पनि गर्न लागिएको प्रा.लिं का अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘यसअघि नै एसइई स्टेट १ आइडल भइसकेको थियो’, उनले भने, ‘यस वर्षदेखि डान्सिङ स्टार पनि हुने भएको छ ।’
‘गुणस्तरीय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने । दुवै प्रतियोगिताका लागि फागुन १७ गतेबाट फारम खुल्ला खुल्ला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउनेछन् । यस्तै, फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने प्रचारप्रसार इभेण्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए ।
प्रतियोगितामा भर्खरै एसईई दिएर बसेका छात्रछात्राहरूले भाग लिन पाउनेछन् । प्रदेश १ का १४ जिल्लामा अडिसन हुने आयोजकले जनाएको छ । अडिसन २०७९ वैशाख तेस्रो हप्तादेखि ओखलढुंगाबाट शुरु बताईएको छ ।