
धरान,koshipost.com
एक सय वर्ष नाघेका गोरखा सैनिकहरुलाई सम्मान सहित दोस्रो विश्व युद्ध लडेका गोर्खा वीर योद्धाहरुको सम्मानमा ट्रायल ब्लेजर दोड हुने भएको छ । गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता आयोजना गरिने भएको हो । सोही अवसरमा दोस्रो विश्व युद्ध लडेका १०० वर्ष नाघेको ३ जना पूर्व गोरखा वीर योद्धाहरूलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।
यसअघि हङकङमा विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा आयोजना गरिने पुर्खा दिवसमा गोर्खा ट्रायल दौड आयोजना गरिँदै आएको थियो । यसपालि पहिलो पटक नेपालमा गोर्खा ट्रायल ब्लेजर नेपाल आयोजना गरिएको आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले बताए ।

आगमी चैत्र ४ दौड प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राई पत्रकार सम्मेलनमा जानकारी दिए । दौडको दुरी ८ किलोमिटर ५०० मिटर हुने अध्यक्षको राईले बताए । उक्त दुरीका लागि धरान(१८ रत्न चौकबाट मङ्गलवारे चौक, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका स्थित गोर्खा स्मृति पार्क सम्म गन्तव्य तोकिएको छ । गोर्खा ट्रायल व्लेजर दौडमा प्रथम हुने विजेतालाई नगद १५ हजार, दोस्रो लाई १० हजार, तेस्रो ५ हजार र चौथो सान्त्वना हुनेलाई नगद ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
गोर्खा पार्कमा हुने समापन समारोहमा ३ जना पूर्व गोर्खा वीर योद्धाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । सम्मानित हुने वीर गोर्खाहरूमा ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, तेह्रथुम घर भई हाल धरान(११ मा बसोबास गर्दै आएका १०१ वर्षीय धनदल लिम्बु र संखुवा सभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मानबहादुर लिम्बु रहेका छन् ।
गोर्खा ट्रायल ब्लेजरमा १ सय ५० जना भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ । सहभागीताका लागि फार्म खुला राखिएको अध्यक्ष महेन्द्र राईले जानकारी दिए । राईका अनुसार गोर्खा सिमेट्री ट्रष्ट सन् २०१८ मा स्थापना भएको हो । त्यसैबेला देखि ट्रष्टले वीर गोर्खाहरूलाई सम्मान कार्यक्रम गर्दै आएको थियो ।