धरान/आज शनिवार ३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो। हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

301237839-775165910202031-1577179248258595507-n (1)

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उनको वि।सं। १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनुपर्ने माग भइरहेको छ । पृथ्वीजयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

राजा पृथ्वी नारायणको स्मरणमा एकता दिवस मनाउँदै आइएकोमा ०६२/०६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको हो । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन । पृथ्वीनारायण शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरूको भनाइ छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको मान्यता नदिए तापनि विभिन्न व्यक्ति, समूह र सङ्गठनहरूले आफ्नै किसिमले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइरहेका छन् ।

पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा भएका थिए । शाहले राजगद्दीमा बसे लगत्तै नेपाल एकीकरण अभियानको सुरुवात गरेका थिए । विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म र्पुयाएका थिए । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए तर त्यो पूर्ण हुन सकेन जे होस् नेपाल एकीकरण महान् अभियान उनले सुरुवात गरेका थिए ।