चैनपुर / संखुवासभाको चैनपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई नयाँ र आधुनिक स्वरूपमा विकास गर्ने उद्देश्यले भवन पुनर्निर्माण अभियान अघि बढाइएको छ । विद्यालयको नयाँ भवन निर्माणका लागि ५ करोड ७२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पुरानो तथा जीर्ण भवनका कारण पठनपाठनमा समस्या हुँदै आएको अवस्थामा विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने लक्ष्यसहित नयाँ भवन निर्माणको योजना अघि सारिएको हो ।
विद्यालय पुनर्निर्माणका लागि जनश्रमदानसँगै देश–विदेशमा रहेका चैनपुरवासी, पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी तथा शुभेच्छुकबाट आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन भइरहेको विद्यालय व्यवस्थापक भरत खड्काले कोशीपोष्ट डटकम संगको कुुराकानीमा जानकारी दिए । विद्यालयलाई समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्ने उद्देश्यले सबै पक्षलाई अभियानमा जोडिन समेत आह्वान गरिएको अध्यक्ष खड्काले कुुराकानी बताए ।
भवन निर्माणका लागि आवश्यक स्रोत जुटाउन प्रदेश सरकार तथा स्थानीय तह, संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्), विद्यालयको आन्तरिक स्रोत, पूर्वविद्यार्थी, शिक्षाकर्मी, दाता तथा शुभेच्छुकबाट सहयोग संकलन गर्ने योजना बनाइएको छ । विद्यालय पुनर्निर्माणका लागि तयार गरिएको योजनामा निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाउने उल्लेख छ । भवन निर्माणसँगै आवश्यक शौचालय, कम्पाउण्ड तथा अन्य पूर्वाधार, फर्निचर र विद्यालय सञ्चालनका लागि आवश्यक संरचनालाई समेत प्राथमिकतामा राखिएको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

विद्यालय निर्माण अभियानमा आर्थिक सहयोगसँगै जिन्सी सहयोग र जनश्रमदानलाई समेत योगदानका रूपमा अभिलेख राखिने व्यवस्था गरिएको छ । देश तथा विदेशमा रहेका चैनपुरवासी र पूर्वविद्यार्थीलाई आफूले सक्ने सहयोग गर्न आग्रह गरिएको छ । विद्यालय निर्माणका क्रममा आर्थिक पारदर्शिता कायम गर्न खरिद तथा आपूर्ति व्यवस्थापन, निर्माण अनुगमन र आर्थिक स्रोत परिचालनका लागि आवश्यक संरचना बनाउने योजना छ । निर्माण कार्यको प्रगति र आर्थिक गतिविधिको सामाजिक परीक्षण तथा लेखापरीक्षण गरी विवरण सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
विद्यालय पुनर्निर्माण अभियानले ‘तपाईं हाम्रो योगदान, भावी सन्ततीको प्रगतिको आधार’ भन्ने भावनालाई अघि सारेको छ । समुदाय, पूर्वविद्यार्थी र देश–विदेशमा रहेका चैनपुरवासीको सामूहिक सहयोगबाट विद्यालयको नयाँ भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले सुरक्षित तथा आधुनिक भौतिक पूर्वाधारसहित अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ । विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न आर्थिक सहयोगसँगै श्रमदान र सामुदायिक सहभागितालाई अभियानको मुख्य आधार बनाइएको अध्यक्ष खड्काले बताए ।
सरस्वती माध्यमिक विद्यालयको मात्र नभई सम्पूर्ण चैनपुरवासीको साझा अभियानका रूपमा अघि बढिरहेको छ । विद्यालयको भवन पुनर्निर्माणका लागि स्रोत संकलन तथा परिचालन अभियान अघि बढाइएको हो । विद्यालय व्यवस्थापन समितिद्वारा गठित ‘सरस्वती माध्यमिक विद्यालय भवन पुनर्निर्माण स्रोत संकलन तथा परिचालन समिति’ ले विद्यालयको नयाँ भवन निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग जुटाउन आह्वान गरेको छ ।
समितिले सहयोग गर्ने दाताहरूको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने तथा विद्यालयको स्मारिकामा दाताहरूको नाम र योगदानको विवरण समावेश गर्ने जनाएको छ । निश्चित रकम भन्दा बढी सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा समेत राखिने व्यवस्था गरिएको विवरणमा उल्लेख छ । विद्यालयको प्रस्तावित नयाँ भवनको डिजाइनमा बहुमञ्जिला आधुनिक संरचना, कक्षाकोठा तथा विद्यार्थीका लागि आवश्यक शैक्षिक पूर्वाधार समेटिएको देखिन्छ । ‘हाम्रो विद्यालय हामी बनाऔँ’ भन्ने अभियानसहित अघि बढाइएको पुनर्निर्माण कार्यमा सबैको सहभागितालाई समितिले महत्वपूर्ण मानेको छ ।
नयाँ भवन निर्माणका लागि विद्यालयका प्र.अ. सहित समितिका पदाधिकारीरु दाताहरुलाई भेट्न काठमाण्डौं,विराटनगर लगायत चैनपुरबासी बसोबास गरेका विभिन्न जिल्ला र शहरमा पुगेर सहयोगको कुराकानी गरेको अध्यक्ष खड्काले जानकारी दिए । आर्थिक सहयोग मात्र नभई श्रमदान, प्राविधिक सहयोग तथा अन्य आवश्यक सामग्री सहयोग गर्नसमेत दाताहरु लगायत पूर्वविद्यार्थी, अभिभावक र शुभेच्छुकहरूलाई आग्रह गरेको अध्यक्ष खड्काले बताए ।
अहिले सहयोग रकम धमाधम जम्मा भईरहेको छ । मनकारी दाताहरुको नाम यपप्रकार रहेका छन् । कृष्ण गोपाल श्रेष्ठ बाट रु ५० लाख ,प्रतिक शर्मा बाट रु ५० लाख ,किरण श्रेष्ठ बाट रु २५ लाख ,राजेन्द्र बहादुर खत्री बाट रु २५ लाख,अर्जुन गौतम बाट रु ५ लाख,कुश कुमार जोशी बाट रु ५ लाख र विद्यालय व्यवस्थापक तथा निर्माण समिति साथै आथिक संकलन समितिका सह संयोजक भरत खड्का बाट रु १ लाख २ हजार ३६ रुपैय सहयोग रकम जम्मा भईसकेको छ । त्यस्तै देश तथा विदेशमा रहेका चैनपुरवासीहरुले विद्यालय पूनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने बचन दिएको अध्यक्ष खड्काले जानकरी दिए ।


















