बझाङ / बझाङमा चट्याङ लागेर ७८ वर्षीया एक बृद्धाको मृत्यु भएको छ । बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर धौली बोहराको मृत्युु भएको हो । सुदूरपश्चिममा बुधवार साँझदेखि वर्षा र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ७८ वर्षीया बोहराको बुधबार साँझ परेको चट्याङ लागेर मृत्यु भएको बताईएको छ ।
यस्तै केदारस्युँ गाउँपालिका–९ स्थित पौडी (ढोड्याखेत) बजार माथिबाट खसेको पहिरोले त्यहाँको मुख्य सडक अवरुद्ध भएको छ । पहिरोका कारण यातायात ठप्प भएको छ भने सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । साथै लगातार परिरहेको वर्षाका कारण जिल्लाकै वित्थडचिर गाउँपालिकाको लिम क्षेत्रमा जयपृथ्वी राजमार्गमाथि रहेको शाखा सडक कटान हुँदा माटो सडकमा झरेर सडक चिप्लो बनेको छ ।
यसले गर्दा उक्त मार्गमा पनि सवारी आवागमन प्रभावित भएको छ । सुदूरपश्चिममा बुधवार साँझ भीषण हावाहुरी र अविरल वर्षा भइरहेको छ । जसको कारण विभिन्न स्थानमा क्षति पुगेको छ ।