ईलाम / २०८२ साल भदौ २३ र २४ गते देशव्यापी रुपमा भड्किएको आन्दोलनले नेपालको सुरक्षा संयन्त्रलाई अभूतपूर्व संकटमा धकेल्यो । प्रहरी कार्यालय मात्र होइन, सवारीसाधन, फर्निचरदेखि सिपाहीका लत्ताकपडा समेत जलाइए । राष्ट्रका सुरक्षासँग गाँसिएका संरचनाहरू ध्वस्त पारिए, जसले सम्पूर्ण मुलुकलाई स्तब्ध बनायो ।
पशुपतिनगर ः एउटा अपवाद
तर, यसैबीच मकवानपुर जिल्ला अन्तर्गतको इलाका प्रहरी कार्यालय -इप्रका- पशुपतिनगर र यस मातहतका चौकीहरू भने सुरक्षित रहन सफल भए । इतिहासले देखाएको छ । जनताको विश्वास र सुरक्षाकर्मीकोे प्रतिबद्धता जहाँ एकआपसमा मिसिन्छ, त्यहाँ विनाशकारी शक्ति निष्प्रभावी हुन्छ । पशुपतिनगर यसको जीवन्त प्रमाण बनेको छ ।
विमला कुमारी कठायतको दूरदृष्टि
इलाका प्रहरी कार्यालयलाई जोगाउन कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले देखाएको नेतृत्व, संयम, रणनीति र त्यहाँ कार्यरत प्रहरीहरूको अनुशासन निर्णायक सावित भयो । कठायतले स्थानीय समुदायसँग विगतदेखि नै मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्ध विकास गरेकी थिइन् । यही सम्बन्धका कारण आन्दोलनको आगो फैलिँदा स्थानीय बासिन्दाहरू प्रहरीसँगै उभिए । “प्रहरी मेरो साथी” भन्ने अवधारणा व्यवहारमै मूर्त रूप लिन सफल भयो ।
संवेदनशील क्षेत्रको चुनौती
हेटौंडा उपमहानगरपालिकाको १० वटा वडा इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहतमा पर्छन् । यही क्षेत्रमा हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा सिमेन्ट, शिवम सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट उद्योगजस्ता ठूला उद्योग अवस्थित छन् । बागमती प्रदेश सरकारका मन्त्रीहरूको निवास पनि यही क्षेत्रमा पर्दछ । अझ गम्भीर कुरा, नेपालकै धेरै अपराधजन्य गतिविधिहरू हुने पदमपोखरी क्षेत्र पनि यही छ ।
यस्तो संवेदनशील क्षेत्रमा आन्दोलनकारीले उद्योग, मन्त्री निवास र प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गर्दा कठायतले अपनाएको संयम र ूयो सम्पत्ति तपाईहरुकै होू भन्ने चेतनामूलक अपिलले आक्रोशलाई शान्त र्पायो ।
सतर्कता र रणनीतिक निर्णय
२०८२ भदौ २४ गते बिहानैदेखि आन्दोलन सुरु हुनासाथ इप्रका पशुपतिनगर मातहतका सबै प्रहरीलाई उच्च सतर्कतामा राखियो । कार्यालयमा रहेका प्रत्येक भौतिक सामग्री र हतियारलाई व्यक्तिगत जिम्मेवारीसहित प्रहरीहरूलाई हस्तान्तरण गर्ने निर्णय लिइयो । आन्दोलनकारी मन्त्री निवासमा छिर्न खोज्दा सम्झाइ(बुझाइ गरेर फर्काइयो । यसरी, प्रहरी कार्यालय मात्र नभई उद्योग, मन्त्री निवास र समुदाय समेत सुरक्षित राख्न सकिनु, नेपालको सुरक्षा संयन्त्रकै लागि गौरवको विषय हो ।
समुदाय र प्रहरीबीचको विश्वास
यस घटनाले प्रष्ट देखायो—समुदाय र प्रहरीबीचको विश्वास, सहकार्य र साझेदारी नै वास्तविक सुरक्षा हो । जब प्रहरी नागरिकसँग मिलेर काम गर्छ, तब प्रहरी कार्यालय मात्र होइन, सम्पूर्ण समाज सुरक्षित रहन्छ ।
परिणाम र सन्देश
हेटौंडा उपमहानगरपालिका–१५ को वडा कार्यालयमा सामान्य भौतिक क्षति भए तापनि अन्य सबै क्षेत्रमा पूर्ण सुरक्षा रहनु, र इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहतका आठवटा प्रहरी कार्यालयहरूको पूर्ण संरक्षण हुनु, प्रहरी निरीक्षक विमला कुमारी कठायतको दूरदर्शी नेतृत्वकै प्रतिफल हो ।
औपचारिक कदरको आवश्यकता
यस्ता योगदानलाई केवल समाचार वा जनश्रुतिमा सीमित राखेर पुग्दैन । नेपाल सरकारले प्रहरी निरीक्षक कठायतको नेतृत्वलाई औपचारिक सम्मान, पदोन्नति र राष्ट्रिय गौरवको रूपमा कदर गर्नैपर्छ । उनले देखाएको नेतृत्व केवल प्रहरीको इतिहासमा मात्र होइन, मुलुककै सुरक्षा रणनीतिमा एउटा पाठ बन्नेछ । इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी निरीक्षक विमला कुमारी कठायतले देखाएको नेतृत्व र उदाहरणीय सहकार्य केवल मकवानपुरको सीमाभित्र मात्र सीमित छैन, यो त सम्पूर्ण मुलुकका लागि सुरक्षा र सहकार्यको नयाँ दिशानिर्देशक बनेको छ । संकटको घडीमा समुदायसँग जोडिएको विश्वास, संयमित नेतृत्व र राष्ट्रप्रतिको कर्तव्यनिष्ठाले कसरी विध्वंसलाई रोक्न सक्छ भन्ने सन्देश पशुपतिनगरले सम्पूर्ण देशलाई दिएको छ ।

आज आवश्यकता यही हो—प्रहरी र समुदायबीचको मित्रता मात्र होइन, साझेदारी र सहजीवन । जब प्रहरी ूप्रहरी मेरो साथीू भन्ने आदर्शलाई व्यवहारमै उतार्छ, तब प्रहरी कार्यालय मात्र सुरक्षित हुँदैन, सम्पूर्ण समाज नै शान्त, विश्वस्त र सुरक्षीत रहन्छ । त्यसैले, पशुपतिनगरको सफलताले प्रष्ट देखाएको छ—समुदायको साथ र विश्वास बिना सुरक्षा सम्भव छैन । प्रहरी निरीक्षक विमला कुमारी कठायतको असाधारण दूरदृष्टि, संयम र मातृत्वभावसहितको नेतृत्वले नेपालकै सुरक्षा संरचनालाई नयाँ परिभाषा दिएको छ ।
यो उदाहरण केवल एउटा घटनाको कथा होइन, यो त सम्पूर्ण राष्ट्रका सुरक्षाकर्मीहरूलाई चेतना र प्रेरणाको दुवै संदेश हो । “यदि प्रहरी नागरिकसँग मिल्छ, नागरिक पनि प्रहरीसँग उभिन्छ ।” यही मूल मन्त्रलाई आत्मसात् गर्न सके मात्र नेपालको सुरक्षा, शान्ति र स्थिरता दीर्घकालीन रुपमा सुनिश्चित हुनेछ ।

















