धरान /सुुनाखरी एकेडेमीको आयोजनामा संचालित जिल्ला स्तरीय फुुटबलको उद्धघाटन खेलमा सुनखरीले १८ गोल गरेको छ । जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’को उद्घाटन खेलमा सुनाखरी एकेडेमी रेडले लिबर्टी रेसिडेन्सियल स्कुललाई १८–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा सुनाखरी रेडले पहिलो हाफमा १० र दोस्रो हाफमा ८ गोल गर्दै कुल १८ गोल गरेको थियो। लिबर्टी स्कुल गोलरहित रह्यो । खेलको ‘म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी श्रीहाङ लिम्बू घोषित भए । उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले गरेका हुन । उनले विद्यालय तहबाट फुटबल खेलाडी तयार गर्न सुनाखरी एकेडेमीले सुरु गरेको प्रतियोगिता उदाहरणीय भएको बताए । एन्फा केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष, कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले धरानमा टोल कपदेखि गोल्ड कपसम्म प्रतियोगिता भए पनि तयारी भने अझै सुधार गर्न आवश्यक रहेको बताए । उद्घाटनको सभापतित्व सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले गरेका थिए ।

मङ्सिर १७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र सेमिफाइनल पुग्ने दुई टिमले जनही ५र५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलको दोस्रो दिन सोमबार दिउँसो १ बजेबाट खेल शुुुरु हुुने आयोजकले जानकारी दिएको छ । पहिलो खेल माउन्ट हर्मन एकेडेमी र विजयपुर माविबिच तथा दोस्रो खेल बुद्ध आदर्श बोर्डिङ स्कुल र नेपाल प्रहरी विद्यालयबिच खेल हुनेछ ।
प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञान कुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का तथा ज्वालामुखी स्कुल पट्नाली सहभागी छन् ।


















