( भद्रगोल किराती / नेपालका बिभिन्न जातजाती, जनजाती आदिबासिहरुसंग आपसी सहयोग र सदभावना राखी किरात राईहरुको भाषा, धर्म, कला, संस्कृति, र इतिहासको खोजी अनुसन्धान, संकलन, संरक्षण, सम्बर्धन र बिकास गर्न, आपसी एकता, चेतना अभिब्रीदी आदी आवश्यक भएकाले देश बिदेशमा बसोबासगरी आएका प्रत्येक किरात राई जातिहरुलाई एउटै बिशुद्द सामाजिक संस्थामा आवद्द गर्नका लागि किरात राई यायोक्खा २०४७ मा स्थापना भएको हो।
यस्ता संस्थाहरु बहुदलसंगै बर्गेल्ती खोलिएका छन । मान्छेको भिडभाड जहाँ हुन्छ । नेपालका राजनैतिक दलहरुको ध्यान त्यो तर्फ आकर्षण तुरुन्तै हुने गर्दछ। आफ्नो दलको झन्डा, चुनाव चिन्ह, पार्टीको निती, बिधान आदिको प्रचार गर्न र सदस्यता बिस्तारको लागि स(साना बजार सम्झिने रहेछन। ति हातहरु आफ्नो चुनाव चिन्हसंग निकट पार्ने लोभले संस्थाको सामर्थ्यमा कसरी हुन्छ। हस्तक्षेप गर्न आफ्नो दलले डामेका कार्यकर्ताहरु लालायित भएका छन। कोही खुलेर कोही लुकेर प्रयास जारी राखेका छन ।
नेपालका बिभिन्न आदिबासि जनजातिहरुको हकहित र अधिकार प्राप्तिका लागि खोलिएको मुल संस्था आदिबासी जनजाती महासंघ समेत दलको दलदलमा फसेर सरोकारवाला समुदायले नटेर्ने अवस्थामा पुगेको छ। महासंघलाई सरकारले चिन्छ तर कत्ती पत्याउछ । दलकै भागबन्डामा जुन पार्टीको मान्छे पुगेको छ। त्यही पार्टिले सांसद मन्त्री बनाएर भोट बटुल्ने मेसिनको रुपमा रुपान्तरण गरेपछी महासंघ अन्तर्गतका जातिय समुदायको संस्थामा पनि दलको छाया नपुग्ने कुरै भएन। अझै दलहरुले भोटका लागि जातिय भात्री संस्थाहरु बनाएर मत आफ्नो दलतिर फर्काउने बाँधको रुपमा प्रयोग गर्दै आएका छन। कुन जातको जातिय संस्थालाई कसरी आफ्नो पोल्टामा न्यानोगरी राख्न सकिन्छ भनेर होटाबाजी भैरहेको छ। जस्को उदाहरण भर्खरै सम्पन्न आदिबासी जनजाती महासंघको राष्ट्रिय महाधिबेशनमा देख्न सकिन्थ्यो ।
महासंघको नेत्रित्व चयन तथा निती निर्माण प्रकृयामा राजनैतिक दलहरुको दलिय हस्तक्षेप तथा भागबन्डाको प्रभाबका कारण आदिबासी जनजातिको साझा आन्दोलन कमजोर हुँदै गएको तथ्यलाई मध्यनजर गरी महाधिबेशनमा हुने दलिय हस्तक्षेप र एनजिओकरणबाट मुक्त्त गरी एक स्वतन्त्र, सशक्त र आन्दोलनमुखि छाता संगठनको रुपमा स्थापित गर्नका लागि आदिबासी जेन्जी एलाइन्सले महाधिबेशन स्थलमा नाराबाजी गर्दै खबरदारी गरेका थिए। महासंघले प्रहरी प्रशासनको सुरक्षाघेरामा बसेर बन्दसत्र सम्पन्न गरें। खास सुरक्षा आफ्नैको हुनुपर्नेमा सरकारले दिएको सुरक्षाघेरा भित्र अधिकार प्राप्तीको आन्दोलन सफल होला ।

असोज ११, १२ र १३ गते बिराटनगरमा गर्न लागेको किरात राई यायोक्खाको १२ औं महाधिबेशनमा महासंघको बन्दसत्रमा जस्तै दलहरुको छायामा राख्ने कि निकाल्ने भन्ने बिषय निक्कै पेचिलो बन्ने देखिन्छ। सभ्यता, संस्क्रिती, भूगोल र इतिहासको सम्मानको लागि ब्रिहत एकता। ूकोशीू नाम खारेज र किरात प्रदेश नामाङ्कन प्रदेशबासीको प्रतिबद्दता॥ नारा दिएर बिराटनगरमै महाधिबेशन गर्नुले मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशीको पक्षमा मत दिने प्रदेश माननीयहरुलाई खुल्ला चुनौती दिनकै लागि हो भन्ने प्रष्ट छ ।
नो कोशी आन्दोलन चर्किएको बेला यायोक्खा र घटकहरुले आन्दोलन घोषणा गर्दै जिम्मेवारीमा रहेका केन्द्रिय पदाधिकारीहरु आफ्नो पार्टीको कार्यक्रममा गाउँ गाउँ पुगेका थिए। मध्यपहाडी राजमार्गमा नेकपा एमाले खडग प्रशाद शर्मा ओलिको अगुवाईमा उदयपुरको घुर्मी बजारहुँदै ओखलढुङ्गा हर्कपुरमा आमा सभा गर्यो। त्यहिबेला यायोक्खा केन्द्रले सडक अवरोध सहितको बिरोध कार्यक्रम आयोजना गर्यो। एमाले निकट यायोक्खाका दुई केन्द्रिय उपाध्यक्षहरु ओलिको स्वागतार्थ घुर्मिमा गेट बनाउदै थिए। अरु ओखलढुङ्गाको मितेरी भञ्ज्याङ, हलेसी, दिक्तेल, भोजपुरतिर कोणसभा र सडकमा टायर बाल्दै थिए ।
संस्थाको निर्णयलाई कुनै महत्व नदिने आफुले आस्था राखेको पार्टीको हितमा जोतिने यो घटनाबाट के प्रमाणित हुन्छ रु राई समुदायको नेताहरुले यायोक्खालाई जम्पिङ प्याडको रुपमा प्रयोगगर्दै जाने देखियो। आज देश बिदेशका लाखौं किरात राई बहुभाषिकहरुको भाषा, संस्कार, संस्क्रिती, सुप्तुलुङ र मुन्दुमी परम्परामाथि अनेकौ दुश्मनहरुबाट प्रहार हुँदा राईको मात्रै होईन देशकै अमुल्य अभौतिक सम्पदा नासिदैछ। संस्थाको मुल नेत्रित्वहरु कोही पार्टिको कार्यक्रममा, कोही बहिस्कारमा, कोही नेताहरुको स्वागतमा, कोही बंशगद्दार घोषणामा बिभाजित हुँदा यायोक्खाको नेत्रित्वप्रती अबिश्वास चुलिएको छ। आन्दोलनहरु, कार्यक्रमहरु हुनुपर्ने स्तरमा सशक्त हुन नसकेको प्रष्ट छ ।
महाधिबेशनको नारालाई नै हेर्ने हो भने आन्दोलनलाई नयाँ उचाईमा उठाउन केन्द्र, प्रदेश , जिल्ला तिनै तहका कार्यकारी नेत्रित्वहरुले राजनैतिक दलको जिम्मेवारी परीत्याग गर्नुपर्ने हुन्छ। मुख्य नेत्रित्व राजनैतिक दलबाट निरपेक्ष हुँदा समुदायलाई आह्वान गर्न सहज र विश्वसनिय हुन्छ। समुदायको आत्माबल र प्रतिष्ठा उच्च हुन्छ। अन्ततस् राजनैतिक दलहरुलाई समुदायको हितमा उभ्याउन सम्भव हुन्छ ।
भोजपुर जिल्लाको हतुवागढी ३ सिन्द्राङमा गतबर्ष सयब्रीक्ष ढल्यो। त्यसको बिशेषता एउटै रुखको बोटमा फरक फरक जातको बनस्पतिहरुको थिए। धेरै जातका रुख बिरुवा एउटै पुरानो रुखमा भएका कारण निक्कै चर्चाको केन्द्रमा थियो। राई पनि त्यस्तै हो। एउटा जाती राई भित्र २६ भाषा बिबिध संस्क्रिती, भेषभुसा, कलाहरु आदी भएको संसारकै दुर्लभ जाती भित्र पर्दछ। जनसाङ्खिक बनौटका द्रीश्टीले साना भाषिक समुहहरुमा यायोक्खाप्रती अपनत्वबोध कमजोर हुँदै जान थालेको हुनाले यायोक्खाप्रती सबै भाषिक समुहको स्वामित्व र अपनत्वबोध गराउन बिबिध भाषिक समुहलाई अवशर आदिमा समेट्न जरुरी छ ।

फरक राष्ट्रियता भए पनि संसारभरका किरात राईहरुको भाषा, संस्क्रिती, कला आदिको मुलथलो भएका कारण यायोक्खा संस्थाहरुको पनि संस्था हो। धेरै राष्ट्रहरुको केन्द्रिय मियो हो। यस्तो संस्थाको अगुवाई गर्नेहरुको शिक्षा, उमेर, अनुभब, ज्ञान, क्षमता, समय आदिको मापदण्ड् तोकिनु आवश्यक छ। समुदायको हितका खातिर काम गर्नुपर्ने ठाँउमा दलहरुको गिद्दे नजरलाई पुरै अप्रेशन गर्न जरुरी छ। सामुदायिक संस्था लिने होइन दिने ठाउँ हो। धन, ज्ञान, समय आदी आफुसंग जे छ त्यो दिन सक्नेले मात्रै तयार हुनुपर्छ। यायोक्खाको बायोडाटाले माननीय, मन्त्री, मेयर, राजनैतिक नियुक्त्ती आदी साट्न आउनेहरुबाट सामुदायिक हितमा काम हुनै सक्दैन ।
देश बिदेशका लाखौं बंशहरुले र महाधिबेशनका प्रतिनिधि परीबेक्षकहरुले संस्थालाई सुधार गर्न बिधानको निती र नेता छान्दा दलिय निकटता, क्षेत्रीय, भाषिक निकटताको आधारमा होईन के गर्दा संस्थाको गरिमा समुदायको प्रगती हुन्छरु आँफैले आँफैलाई सोधेर निर्णय गर्न जरुरी छ। देश बिदेशको लाखौं जनसंख्यालाई हेप्न र हेपिन नदिन यही महाधिबेशनबाट मजबुदिका साथ मनोबल उच्च राखेर हातेमालो गरौं। चोमोलुङ्मा जस्तो अग्लो भएर हामी सबैले उभिन सकौं। फुटाएर राज गर्नेहरुको खेताला, भरिया, झोले, चम्चे कोही नबनौं र बन्नेलाई कडाईका साथ रोकौं ।

















