धरान/ धरानमा रास्वपाको वडा स्तरीय फुटसल रनिङ कप सम्पन्न भएको छ । खेलकुदको शहरका रूपमा परिचित धरानको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), धरानले आयोजना गरेको वडा स्तरीय फुटसल रनिङ कप २०८३ सम्पन्न भएको हो । प्रतियोगितामा धरान–१४ को टोली विजेता बनेको छ भने धरान–१६ उपविजेता र धरान–१५ तेस्रो भएको छ ।
प्रतियोगितामा विजेता टोलीले ट्रफीसहित नगद १५ हजार रुपैयाँ, उपविजेताले ट्रफीसहित १० हजार रुपैयाँ र तेस्रो हुने टोलीले ट्रफीसहित ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । खेलकुदको माध्यमबाट एकता, समन्वय र सहकार्यको विकास गर्दै धरानको समग्र समृद्धिको मार्ग निर्माणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रास्वपा नगर सभापति सुमन श्रेष्ठले जानकारी दिए । बडादसैँ लगायतका महान् चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यसमेत प्रतियोगितासँग जोडिएको सभापति श्रेष्ठले बताए ।

श्रैष्ठका अनुसार प्रतियोगिता खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने तथा खेलकुद क्षेत्रमा अग्रजहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको हो । धरानलाई खेलकुदको क्षेत्रमा थप स्थापित गराउन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ । आगामी दिनमा फुटसलसँगै अन्य खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने योजना रहेको रास्वपा धरान नगर सभापति श्रेष्ठले जानकारी दिए ।
खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी सामाजिक एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने सन्देश समेत प्रतियोगिताले दिएको सभापति श्रेष्ठले बताए ।


















