संखुवासभा / संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा श्रीमान्ले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज कात्तिक ११ गते बिहान करिब ९ बजे उक्त घटना भएको हो ।

नुनढाकी निवासी अन्दाजी ४८ वर्षीय टेम्बा रिन्जे शेर्पाले आफ्नै अन्दाजी ४९ वर्षीया श्रीमतीलाई कुटपिट गरेको र उनी मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएपछि प्रहरीले घटनामा पुुगी श्रीमान् रिन्जे शेर्पालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकी तथा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटिएको थियो । प्रहरी निरीक्षक पशुराम राईको कमान्डमा खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपी रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । घटनाको वास्तविक कारण, कुटपिटको परिस्थिति तथा अन्य विवरण अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ ।




















