धरान / नेपाली सेनाको सलामी, तोपको गडगडाहट, नौमतीबाजा, बेण्डबाजा र भजनकीर्तनको गुञ्जनबीच धरान (१४ विजयपुरस्थित प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरमा फूलपाती भित्र्याइएको छ । बडादसैँ अन्तरगत नवरात्रीको सातौँ दिन कालरात्रीको अवसरमा दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पिण्डेश्वर महादेव मन्दिर परिसरमा धार्मिक विधि तथा सलामी कार्यक्रम गर्दै फूलपाती भित्र्याइएको हो ।

नेपाली सेनाको टोली संगै सशस्त्र प्रहरीको टोली, नेपाल प्रहरी, नगर प्रहरी, मन्दिरका सदस्य, भजनमण्डली, स्थानीय बासिन्दा तथा भक्तजनको सहभागीतामा हर्ष बढाईका साथ फूलपाती भित्र्याइएका थिए । नौमती बाजागाजासहितको टोलीले विभिन्न धार्मिक स्थलमा पुगेर पूजाआजा तथा सलामी कार्यक्रम सम्पन्न गरेको थियो ।

फूलपाती कार्यक्रमको सुरुआत क्रममा नेपाली सेनाको ब्याण्डबाजासहितको टोलीले दन्तकाली मन्दिरको प्राङ्गणमा ४ राउन्ड तोप सहित सलामी दिएको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, मन्दिरका सदस्य तथा भक्तजन सहभागी टोली बाजागाजासहित बुढासुब्बा मन्दिरतर्फ प्रस्थान गरेको थियो ।

Sagurigadi

बुढासुब्बा मन्दिर परिसरमा ४ राउन्ड तोप सहित सलामी दिएको थियो । त्यसपछि टोली पिण्डेश्वर महादेव मन्दिर परिसर पुगेको थियो । यसैबीच, बिहानै तीन जना ब्राह्मणले विजयपुर क्षेत्रमै रहेको पिण्डेश्वर महादेव मन्दिर परिसरबाट फूलपाती (नवपत्रिका) संकलन गरेका थिए । संकलित फूलपात (नवपत्रिका)लाई मन्दिर परिसरमा रहेको बेलपत्रको रूखमुनि राखेर दन्तकाली मन्दिरका पुजारी कमल भट्टराईको अगुवाइमा पूजाआजा गरिएको थियो । पूजापछि नेपाली सेनाले त्यहाँ पनि ४ राउन्ड तोप सहित सलामी दिएको थियो ।

पूजाआजा त्यहाँ सम्पन्न भएपछि पून बाजागाजा र हर्षबढाइँसहित सो फूलपाती (नवपत्रिका)लाई डोलीमा सजाउँदै दन्तकाली मन्दिरतर्फ ल्याइएको थियो । यस अघि नेपाली सेनाले आफ्नो परम्पराअनुसार फूलपाती (नवपत्रिका)को डोली दन्तकाली ल्याएको थियो । दन्तकाली मन्दिरमा दुवै डोलीलाई बलि अर्पण गरिने स्थानमा सँगै राखेर पुजारी कमल भट्टराईको अगुवाइमा पुनः पूजाआजा गरिएको थियो । धार्मिक विधिअनुसार एउटा बोकाको बलि दिएपछि नवपत्रिकालाई मन्दिरभित्र भित्र्याइएको थियो ।

2 Dil Bahadur Rai 2083 Subhakamana

दन्तकाली मन्दिरको लागि पून २ राउन्ड तोप सहित सलामी दिदैं नेपाली सेनाले आफूले ल्याएको फूलपातीको डोली ब्यारेकतर्फ लिएर फर्कियो । महिलाको नौमती पञ्चेबाजाले फूलपातीको रौनक थपेको थियो । यस वर्षको फूलपाती समारोहमा महिलाहरूको नौमती बाजालाई पनि समावेश गरिएको थियो । मन्दिरका मूल पुजारी राजेन्द्र खनालले अन्य बर्षको फरकपनमा महिलहरुद्वारा बजाईने नौमती पञ्चेबाजालाई लिएका छन् । 

‘पहिले चाहिँ पञ्चेबाजा, नौमती बाजा महिलाहरूको यो समावेश थिएन । यो पल्ट मैले महिलाहरूको पनि नौमती बाजाहरूलाई चाहिँ नि समावेश गरेको छु ।’ उनले भने । मन्दिरको सजावट, बत्तीको व्यवस्था र प्रचारप्रसारलाई समेत बढाइएको मूल पुजारी खनालले जानकारी दिए । सामाजिक सञ्जाल, भिडियो, जिङ्गल र माइकिङमार्फत प्रचारप्रसार गरिएकाले भक्तजनको सहभागिता बढ्दै गएको उनको भनाइ छ 

1, pankoj jama

मन्दिरका मूल पुजारी राजेन्द्र खनालका अनुसार फूलपाती भित्र्याउने परम्पराअन्तर्गत ब्राह्मणहरू बिहानै नवपत्रिका संकलन गर्न जाने र बाजागाजा तथा भजनकीर्तनसहित धार्मिक स्थल हुँदै मन्दिर फर्किने चलन रहँदै आएको छ ।  धरान १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले वडा कार्यालय, स्थानीय सरकार र दन्तकाली मन्दिर व्यवस्थापन समितिको समन्वयमा कार्यक्रमको तयारी गरिएको बतए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा विभिन्न धार्मिक सङ्घसंस्थाको सहयोगमा समारोह सम्पन्न भएको हो ।

वडा अध्यक्ष भट्टराईले गत वर्षको तुलनामा यस वर्ष फूलपाती समारोहमा भक्तजनको सहभागिता बढेको बताए । कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षा निकायसँग समन्वय गर्नुका साथै धार्मिक यात्रा सञ्चालन हुने मार्गको व्यवस्थापनसमेत गरिएको उनको भनाइ छ । फूलपाती भित्र्याउने यस परम्पराले विजयपुर क्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ । नेपाली सेनाको सलामी, तोप, बाजागाजा, नवपत्रिका पूजा र परम्परागत विधिसहित सम्पन्न समारोहले बडादसैँको धार्मिक उल्लासलाई थप विशेष बनाएको छ ।